फिदिम । बैसाखबाट पाँचथरमा निरन्तर निषेधाज्ञा जारी छ । निशेधाज्ञा भएको पनि करीब ९० दिन भइसकेको छ । कहिले निकै कडाइ त कहिले निकै फितलो निशेधाज्ञा गर्दै ९० दिन अर्थात ३ महिना बिति सकेको छ । यस अबधिमा धेरै मानिसहरु संक्रमीत भइ सकेका छन् । भने धेरैले ज्यान समेत गुमाइ सकेका छन् । धेरै जीवन र मरणको अवस्थामा अस्पतालको बेडमा अक्सीजन लगाएर सुती रहेका छन् । पछिल्लो दुई हप्ता यता निषेधाज्ञामा केहि कडाई गर्ने प्रयास पनि गरिएको छ । तर, पनि जिल्लामा कोरोना भाइरसको संक्रमण दर उलेख्य रुपमा घट्न सकेको छैन । निषेधाज्ञा यति कडाई हुँदा पनि संक्रमण नियन्त्रण नहुँदा सर्वत्र चिन्ता र त्रास बढेको छ । संक्रमणको दोस्रो लहर बढ्दै गएपछि केहि साता अगाडी एक साता पुणर् निषेधाज्ञा गरिएको थियो त्यसले केहि मात्रामा संक्रमण दर नियन्त्रण गरेको थियो ।
त्यसपछि निषेधाज्ञा खुकुलो पारियो । निषेधाज्ञा खुकुलिएसँगै बढ्दै गएको संक्रमण निषेधाज्ञा कडाई गरिएपनि संक्रमण उच्च देखिएको छ । केन्जो खबरले पाँचथरमा संक्रमण दर नघट्नुका केहि कारण खोत्ने प्रयास गरेका छौं । संक्रमण दर नघट्नुका सिमित कारण मात्र त नहोलन तर केहि कारणहरु बहस,छलफल र आगामी दिनका रणनितिक छलफलहरुका लागी बहसको विषयहरु भने हुन सक्छन् ।
नाममात्रको निशेधाज्ञा
पाँचथरमा औपचारीकताको र नाममात्रको निशेधाज्ञाले गर्दा पनि कोरोना संक्रमणको चेनब्रेक हुन नसकेको स्थानियहरु बताउछन् । कोरोना संक्रमणको ग्राफ तथ्याङकमा उच्च भए पनि हाम्रो ब्यवहारमा पाँचथरमा कोरोनानै आएको छैन जस्तो गर्ने बानीले पनि कोरोना संक्रमण घट्ने संकेत छैन् । प्रहरीहरुलाई देख्दा पसल बन्द गर्ने, प्रहरीलाई देख्दा मात्र मास्क लगाउने,प्रहरी देख्दा मात्र भिड नगर्ने प्रहरीको लागी मात्र निशेधाज्ञा गरेको जस्तो गर्ने हाम्रो प्रबृतिले गर्दा पनि पाँचथरमा कोरोना संक्रमण दर नघटेको हो भन्ने हाम्रो विषलेशण छ । होटलमा १० जना भेला हुने अनि निशेधाज्ञा फितलो भयो भन्दै आफै बहस गर्ने प्रबृति पनि पाँचथरमा गज्जबको देखिएको छ ।
हाम्रो आनी बानी
पाँचथरमा कोरोना संक्रमण दर नघट्नुमा दोष एक पक्षलाई मात्र दिएर मात्र पनि पुग्दैन । हामी सबै नागरीकहरु कोरोना संक्रमण घटाउन कति जिम्बेवार बन्यौं त ? यता तर्फ आफुले आफुलाई पनि प्रश्न गर्ने बेला आएको छ । हामीले निशेधाज्ञालाई कति पालन गर्यौं?, हामीले कति सावधानी अपनfयौं यि प्रश्नहरु आज सबैले आफु आफुलाई गर्ने बेला आएको छ । पुर्ण निशेधाज्ञा गर्दा पनि खोल्न बाध्य पार्ने पनि छौैं अनि खुल्ला भए पछि फेरी खुल्ला भयो फेरी बन्द गर्नु पर्छ भन्नेहरु पनि यहि छौं ।
बजार क्षेत्र बन्द गाउँमा बेवास्ता
कोरोनाको भाइरस चाँही बजार क्षेत्रमा मात्र छ भने जस्तो गर्ने प्रबृतिले गर्र्दा गाउँनै कोरोना माहामारीमा फस्दा समेत गाउँ गाउँमा कोरोना संक्रमण रोक्ने गतिलो प्रयास गरिएको पाइएन । केबल बजार क्षेत्र प्रकृया पुरा गर्नको लागी मात्र बन्द गरेको जस्तो गरियो । गाउँ गाउँमा बिबाह, भोज र राजनितिक दलका कार्यक्रम गर्न पुरै छुट दिनाले पनि कोरोना संक्रमण दर रोकीएको छैन् ।
संक्रमण नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शहरमा निषेधाज्ञाका कारण अनावश्यक हिँडडुलदेखि बजार सबै बन्द छ । तर, गाउँमा भने संक्रमणप्रति सजगता कम मात्र पाइन्छ । भौतिक दूरी कायम गरेर नियमित गतिविधि गर्नु त स्वभाविकै हो । संक्रमण समुदायस्तरमा फैलिएको अवस्थामा गाउँमा पनि भौतिक दूरी कायम गर्ने र अन्य स्वास्थ्यका मापदण्ड अपनाउनु अनिवार्य छ । तर, गाउँमा सामान्य अवस्थामा जस्तै गतिविधि देखिएको छ ।
कोभिडको लक्षण देखिदा पनि गाउँमा परीक्षण तत्काल नगर्ने र हिँडडुल गरिरहने गरेको देखिन्छ । स्वास्थ्य समस्या गएपछि मात्र परीक्षण गर्ने प्रवृत्ति देखिन्छ । भौतिक दूरी कायम गर्ने, स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा ख्यालै गरिएको पाइँदैन । र, छरछिमेकीमा आउँजाउँ गर्ने सँस्कार निरन्तर छ । जसले गर्दा गाउँमा संक्रमण तीब्र देखिएको छ ।
राजनितिक दलहरुको असहयोग
पाँचथरमा कोरोना संक्रमण दर नघट्नुमा पाँचथरका राजनैतिक दलहरुको असहयोग पनि मुख्य कारण हो । जिल्लामा पुरै निशेधाज्ञा जारी रहदा पनि यहाँका राजनितिक दलका नेताहरु हुलका हुल श्रद्धाञ्जली दिने, राजनैतिक कार्यक्रमहरुलाई निरन्तरता दिदै मानिसहरु भेला पार्ने आदि कार्यक्रमहरु निरन्तर भइ रहदा पनि पाँचथरमा कोरोना संक्रमण दर घट्न सकिरहेको छैन् ।
तासको खाल र भट्टी पसल
निषेधाज्ञा यति कडा छ, खाद्यान्नको पसल खोल्ने समय पनि अत्यन्तै सीमित मात्र छ । तर, प्रहरी प्रशासनको आँखा छलेर भट्टी पसल र तासका खालहरु चलिरहेकै छन् । निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्न पाइन्न । बाहिर हिँडडुल र भीडभाड नगरे पनि तासमा जम्न र भट्टीमा रम्न सहज भएको छ । यसले पनि संक्रमण बढाउने काम गरिरहेको छ ।