कांग्रेस अहिले १४ औँ महाधिवेशनको संघारमा छ। र, फेरि एकपटक कांग्रेसभित्र गुट मौलाउन थालेको छ।
पछिल्लो महाधिवेशनमा प्रष्ट तीन गुट देखिएको कांग्रेसभित्र अहिले थप चिरा परेको छ। संस्थापनबाहेक वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले अलग–अलग गुट हाँकिरहेका छन्।
संस्थापन समूहबाटै उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गरेपछि थप दुई गुटको उदय हुने बलियो सम्भावना देखिएको छ।
गएको चुनावमा कांग्रेसको लज्जास्पद हारपछि तीव्र आलोचित भए पनि सभापति देउवा फेरि पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरिसकेका छन्। वरिष्ठ नेता पौडेल, उपसभापति निधि, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय सिटौला र प्रकाशमान सिंहका साथै नेता शेखर कोइरालाले पनि सभापतिका लागि तयारी थालिसकेका छन्।
पार्टीभित्र गुटबन्दी मौलाएर गएको निष्कर्ष पार्टीकै नेताहरूको छ। र, पछिल्लो समय गुटको राजनीतिमा सबैभन्दा बढी सक्रिय देखिएका छन्, वरिष्ठ नेता पौडेल। एक पटक सभापति बन्ने चाहना व्यक्त गरेका पौडेल दिनहुँजसो गुटको भेला गरिरहेका छन्।
लोकतान्त्रिक पार्टीमा गुट र समूह हुनु स्वाभाविकै भए पनि वरिष्ठ नेता पौडेलको व्यवहारले संस्थापन पक्ष असन्तुष्ट बनेको छ। गुटको भेलामा पौडेलको सक्रिय पार्टी हितभन्दा जसरी पनि सभापति देउवालाई कमजोर बनाउन उद्यत रहेको संस्थापन पक्षका नेताहरूको बुझाइ छ।
‘लोकतान्त्रिक पार्टीमा विभिन्न विचार समूह जन्मिनु स्वभाविकै हो। फरक फरक विचारलाई समेटेर सामूहिक निर्णय हुँदा पार्टीलाई मजबुत नै बनाउने हो,’ देउवा निकट एक नेता भन्छन्,‘तर उहाँ (पौडेल) गुटको जोडबलले जसरी पनि सभापतिलाई कमजोर र बदनाम गराउन खाजिरहनु भएको छ। यस्ता क्रियाकलापले पार्टीलाई क्षतिमात्र पुर्याउँछ।’
गुटको बल देखाउने र नेतृत्वसँग ‘बार्गेनिङ’ गर्ने परम्परा पनि कांग्रेसभित्र विकसित हुँदै गइरहेको छ। २०७४ मा देउवाको प्रधानमन्त्रीका रूपमा सपथ हुँदै गर्दा वरिष्ठ नेता पौडेलले सहभागी नहुने खबर पठाएका थिए। मन्त्रिपरिषदमा ४० प्रतिशत आफ्नो सहभागिता हुनुपर्ने उनको अडान थियो।
अहिले गठबन्धनको नेतृत्व गर्दै पुनः प्रधानमन्त्रीमा आसीन देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेका छन्। र, पौडेलले सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागिताका लागि अडान राखिरहेका छन्।
‘गुटको बलमा उहाँ सभापतिमाथि अनावश्यक दबाब दिन खोजि रहनुभएको छ। केही समस्या भए पार्टीभित्र सामूहिक रूपमै छलफल हुनुपर्यो,’ देउवा निकट ती नेता भन्छन्,‘गुटको राजनीति गरेर सभापतिलाई कमजोर पार्न खोजे पनि उहाँ स्वयं कमजोर हुनथाल्नु भएछ।’
गुटको राजनीति पार्टीभित्र स्वस्थ राजनीतिका लागि जरूरी रहेको उनको भनाइ छ।
पौडेलनिकट नुवाकोटका कांग्रेस सभापति जगदिश्वरनरसिंह केसी पनि जीवन्त पार्टीभित्र गुटउपगुट हुनु स्वाभाविक रहेको बताउँछन्। महाधिवेशन आउँदा गुट–उपगुट बन्नु त झनै स्वाभाविक रहेको उनको भनाइ छ।
‘कुनै पनि जीवन्त पार्टीमा गुट–उपगुट हुनु स्वभाविकै हो,’ उनी भन्छन्,‘झन् महाधिवेशन आउँदो त यो बढ्नै नै भयो। सभापतिका लागि धेरै आकांक्षी भएपछि गुट त जन्मिने भइहाल्यो।’
लोकतान्त्रिक पार्टीमा गुट जन्मिनु स्वाभाविकै रहे पनि जित्नेलाई अरूले स्वीकार गरी एक भएर अगाडि बढ्न परम्पराको विकास आवश्यक रहेको उनले बताए।
गुट–उपगुटले पार्टीलाई कमजोर बनाउने तर्क गलत रहेको केसीले बताए।
‘गुट–उपगुटले पार्टी झनै खारिन्छ। एक जनाले मात्रै साबै थोक गरेपछि पार्टीमा निरंकुशता हाबी हुन्छ,’ केसी भन्छन्,‘प्रतिस्पर्धा गर्दा जित्नेलाई पनि म प्रतिस्पर्धा गरेर आएको भन्ने हुन्छ। हार्नेले पनि भोलि जित्नुपर्छ भनेर कार्यकर्ताको कुरा सुन्छ। प्रतिस्पर्धा राम्रो हो। यसले पार्टीमा कुनै अप्ठ्यारो हुँदैन।’
लोकतान्त्रिक पार्टीभित्र गुट आफैंमा खराब नरहेको राजनीतिक चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पनि बुझाइ छ।
केही उनले भनेका थिए ‘गुट आफैंमा खराब होइन, प्रजातान्त्रिक प्रक्रियाको विस्तार हो। नेपाली कांग्रेसको संस्कृतिमा किसुनजी हुँदा पनि गुट थियो, गणेशमानजी हुँदा पनि गुट थियो, बिपी हुँदा पनि गुट थियो। भारतमा गान्धीजीको पालामा पनि गुट थियो। तर, कांग्रेसमा गुटको ठाउँ गिरोहले लिएको छ।’
कांग्रेसका लागि नयाँ होइन गुट
देशकै सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसका लागि गुट नौलो विषय होइन। पार्टी स्थापनाकालदेखि नै कांग्रेस गुट–उपगुटको सामना गर्दै आइरहेको छ। बाहिर छताछुल्ल नभए पनि राणा र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा पनि कांग्रेसभित्र गुटको टकराव कायम थियो। २०४७ यता गुटबीचको द्वन्द्व खुलेरै बाहिर आएको कांग्रेस नेताहरू बताउँछन्।
२००९ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र बिपी कोइराला पार्टी सभापति थिए। निवर्तमान सभापति रहेका मातृकालाई बिपी गुटले कारबाही गरेपछि कांग्रेस चार चिरामा विभाजन भएको थियो।
त्यसपछि २०५९ सालमा गिरिजाप्रसाद कोइराला सभापति थिए भने शेरबहादुर देउवा प्रधानमन्त्री। माओवादी द्वन्द्व चरम अवस्थामा थियो। र, तत्कालीन प्रधानमन्त्री देउवाले संकटकाल लम्ब्याउन चाहेका थिए।
तर, पार्टीले संकटकाल नथप्न निर्देशन दियो। देउवाले पार्टी निर्देशनविपरीत संकटकाल लम्ब्याए। केन्द्रीय समितिमा बहुमतमा रहेका कोइरालाले देउवालाई कारबाही गरे।
२०५९ असार ४ गते बानेश्वरको बिसिसिआइ भवनमा आफूपक्षीय कार्यकर्ताको भेला राखेर नयाँ पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को घोषणा गरे।
रामचन्द्र पौडेलले साथ दिने आश्वासन दिए पनि उनी आएनन्। र, त्यतिबेला देउवालाई गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, बालकृष्ण खाँण, पूर्णबहादुर खड्काले साथ दिएका थिए।