काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सम्भवत: असोज १५ देखि मंसिर महिनासम्म तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको हो। ‘कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमणको दरलाई हेर्दा तेस्रो लहर सम्भवत: असोज १५ देखि मंसिर महिनामा पुन:आउन सक्दछ,’ संसदीय समितिमा बुझाइएको प्रतिवेदनमा भनिएको छ।मन्त्रालयले कोरोनाका भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभुत मापदण्डको पालनाको स्तरले तेस्रो लहर आउने समय केही अगाडि पछाडि धकेल्न सकिने विषयमा पनि समितिमा जानकारी दिएको छ।
मन्त्रालयका अनुसार अबको पाँच महिनाको अवधिमा थपिने नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र ती मध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने अनुमान रहेको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले जानकारी दिए।
मन्त्रालयले कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमण दरका आधारमा आगामी असोज दोस्रो सातादेखि नेपालमा तेस्रो लहर आउने प्रक्षेपण गरेको छ। मन्त्रालयले उक्त प्रक्षेपणको विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा जानकारी दिएको छ।
हालको स्थिर संक्रमणको आधारमा हेर्दा आगामी पाँच महिनामा झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ।
‘हालको पछिल्ला हप्ताहरुको स्थिर संक्रमणको आधारमा १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ,’ मन्त्रालयले बुझाएको प्रतिवेदनमा भनिएको छ।
डा लोहनीले असोजसम्म कोभ्याक्स सुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने जानकारी दिए।
कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप प्राप्त हुने बताए। जापानबाट प्राप्त हुने खोप भदौ पहिलो सातासम्म आइपुग्ने उनको भनाइ छ। यस्तै, कोभ्यास सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार डोज खोप भदौको अन्तिम साता प्राप्त हुने लोहनीले जानकारी दिए।
वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप प्राप्त हुने उनको भनाइ छ। चीनबाट अनुदानमा प्राप्त हुने खोप साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले जानकारी दिए।
असोजसम्म खरिदबाट ७० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ। नेपालले भारतबाट पहिले नै खरिद गरेको, तर प्राप्त हुन नसकेको १० लाख डोज कोभिसिल्ड खोप भदौको दोस्रो साता प्राप्त हुने लोहनीले बताए। यस्तै, चीनबाट खरिद गरिएको ६० लाख डोज भेरोसेल खोप भदौ मसान्तसम्म प्राप्त भइसक्ने उनको भनाइ छ।
डा लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिए। जसअन्तर्गत कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने उनको भनाइ छ। कोभ्याक्सबाटै लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जाेनसन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ।