काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। कोरोनाको दोस्रो लहरमा संक्रमितहरुको संख्या केही कम भएपछि निषेधाज्ञा खुकुलो बनाइए पनि संक्रमणबाट मृत्यु हुनेको संख्या भने कम हुन सकेको छैन।
शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो।
हालसम्म देशभर ९५०६ जनाको मृत्यु भइसकेको छ भने मृत्युदर १।५ प्रतिशत रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ९ सय ३६ कोरोना संक्रमित थपिएका छन्। ९ हजार ६ सय १३ जनामा पिसिआर र ४ हजार ५ सय ६९ जनामा एन्टिजेन विधि प्रयोग गरी परीक्षण गरिएकोमा २९३६ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, शुक्रबार देशभर १ हजार ७ सय ७५ जना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ।