इलाम । पर्यटकीय नगरी सूर्योदय ६ स्थित कन्यामको एक गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।
गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो । स्थानीय किसान राम राईले पालेको गोरुको फिला काटेर लगिएको पाइएको हो ।
सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तङ्ग्रिँदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको र गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा भेटिएको थियो ।
यसअघि पनि उनै किसानको एक हल गोरुको फिला काटेर लगिएको थियो । यसअघि पनि फिला काटेर लगेकै कारण गोरु मरिसकेको छ । उस्तै प्रकृतिको यो दोस्रो घटना हो ।
आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, घटनामा संलग्न अहिलेसम्म फेला पर्न सकेको थिएन ।