पाँचथर । भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रबारको बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ।
गृह मन्त्रालयका सूचना अधिकारी दिलबहालुर तामाङले बाढी र पहिरोबाट बढी प्रभावित भएका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी काम गर्नुपर्ने गरी सिफारिस भएको जानकारी दिए।
अबको मन्त्रिपरिषद्ले उक्त घोषणा गर्ने तयारी गरेको छ। पछिल्लो विपद्बाट २४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अर्बौँको भौतिक सम्पत्ति क्षति भएको छ।गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।
सम्भवत शुक्रबार नै बस्ने मन्त्रिपरिषद बैठकले कार्यकारी समितिको सिफारिस अनुसार विपद प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी रहेकाे तामाङले जानकारी दिए ।
पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस तामाङले केन्जाेखबरलाइ बताए ।ती स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी छ ।