ताप्लेजुङ । उपाधिको दाबेदार टोली बिर्तामोड युनाइटेड एफसी झापालाई रोक्दै सिराहाको सलहेश युवा क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा बिर्तामोडलाई ४-२ गोलअन्तरमा पराजित गरेर सिरहा फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटमा पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
खेलको १८औँ मिनेटमा सिरहाका लागि जोन ग्लोरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, आफ्नै टोलीका सदस्य सेवेले आत्मघाती गोलको उपहार दिएपछि झापा बराबरीमा आएको थियो ।
खेलको ५६औँ मिनेटमा सेवेले आफ्नै पेनाल्टी एरियामा हेड फ्लिक गर्दा झापा खेलमा फर्किएको थियो । १०५ मिनेटमा पनि खेलको निर्णय हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको हो ।
टाइब्रेकरमा बिर्तामोडका निमा तामाङको प्रहार सिरहाका गोलरक्षक प्रदिप भण्डारीले रोकेका थिए भने सौरभ लिम्बूको प्रहार गोलपोस्टमा लाग्दै भित्रियो । हिसुब थपलिया र रोहन कार्कीको प्रहारमात्र गोलमा परिणत भएको थियो ।
यसैगरी, सिरहाका श्रृजन क्षेत्रीको प्रहार आकासिँदा प्रवेश दनुवार, जय गुरुङ, सन्तोष खत्री र आदित्य शाक्यको प्रहार गोलमा परिणत भयो । खेलको म्यान अफ दी म्याच गोलरक्षक प्रदिप भण्डारी भए । उनले नगद ५ हजार पाए ।
यो सँगै फाइनलका लागि सिराहाले मोरङको सगरमाथा युथ क्लबसँग भेट पक्का गरेको छ । पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २-१ गोलले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो ।
भदौ १० गते हुने फाइनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।