पाँचथर । चौथो गोल्डकपको खेलतालिका सर्वजजिक भएको छ । पाँचथर क्लबको आयोजनामा फाल्गुन १२ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत सोमबार खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ ।
ए डिभिजन क्लब त्रिभुवन आर्मी सहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । फाल्गुन १३ गते झापा ११ फुटबल क्लब झापा र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुने छ । फाल्गुन १४ गते बाग्मती युथ क्लब सर्लाहीले पथरी ११ फुटबल क्लब मोरङसँग खेल्ने छ । १५ गते भारतको हिल्स फुटबल एकेडेमीले ए डिभिजन क्लब त्रिभुवन आर्मीको सामना गर्ने ।
यस्तै, फाल्गुन १६ गते पाँचथर र नमोबुद्ध विजेता तथा बाग्मती र पथरीबीचको विजेताबीच पहिलो सेमिफाइनल हुने छ । अन्तिम सेमिफाइनल १७ गते रेडहर्स र झापाबीचको विजेता तथा आर्मी र हिल्स एकेडेमीबीचको विजेताबीच हुनेछ । फाल्गुन १९ गते गोल्डकपको फाइनल हुने छ ।
प्रतियोगिताको म्यान अफ दि म्याचले नगद ५ हजार,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले नगद २ हजार ५ सय प्राप्त गर्दा सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले पनि नगद २ हजार ५ सय प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागि खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको छ । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शको समेत बिमा गरिने आयोजकले जनाएको छ ।