काठमाण्डाैं । कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजित भएको बताउन थालेका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई भेट्न आउने केही विश्वासिला नेतासँग उक्त कुरा बताउने गरेका छन् । कांग्रेसबाट मन्त्री भएकाहरूले काम पनि नगरेको र अस्वाभाविक विवादमा पर्ने गरेको भन्दै आफू आजित भएको बताउने गरेका हुन् ।
कांग्रेसका केही मन्त्रीहरूले प्रधानमन्त्रीका योजना र कार्यक्रमलाई असफल बनाउन असहयोग गर्ने र कतिपय सन्दर्भमा ठाडै विरोध गर्ने गरेका छन् । यसमा सबैभन्दा बढी अर्थमन्त्री प्रकाशशरण महत र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत देखिएका छन् । उनीहरू दुवै जना विवादमा पनि पर्दै आएका छन् । उद्योगमन्त्री रमेश रिजाल पनि विवादमा तानिएका छन् ।
प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार कांग्रेसका मन्त्रीहरूको काम गर्ने स्टाइल नै यस्तै हो कि के हो, काम गर्न नै गाह्रो भयो भन्दै प्रचण्डले पटकपटक निराशा व्यक्त गर्न थालेका छन् । उनले यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सुनाएका छन् । तर, देउवा तत्काल मन्त्री परिवर्तन गर्ने सन्दर्भमा सहमत देखिएका छैनन् ।
प्रचण्डले सार्वजनिक रूपमा नै सभापति देउवाले असहमति प्रकट गरेको बताएका छन् । सेतोपाटीसँगको अन्तर्वार्तामा प्रचण्डले सभापति देउवाबाट २ वर्षका लागि पठाएका मन्त्रीहरूलाई बीचमै फिर्ता बोलाउन गाह्रो हुने जवाफ पाएको बताएका छन् । त्यसैले, प्रचण्ड अहिले मन्त्रिपरिषद् हेरफेर गर्ने वा नगर्ने भन्ने अन्योल मात्र होइन, कांग्रेससँगको सहकार्य तनावमा रहेको निकटस्थसँग बताउने गरेका छन् ।
प्रचण्डनिकट स्रोतका अनुसार अहिले अर्थमन्त्री महत, स्वास्थ्यमन्त्री मोहन बस्नेत र उद्योगमन्त्री रमेश रिजालबाट धेरै समस्या भएको बताएका छन् । स्रोतका अनुसार महतले प्रधानमन्त्री प्रचण्डका हरेक आर्थिक एजेन्टा र कार्यक्रमलाई असफल बनाइदिएका छन् । जसले गर्दा, प्रचण्ड निरन्तर रुष्ट देखिन्छन् ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक मन्दीको विषयमा छलफल गर्न राष्ट्रिय आर्थिक गोलमेच सम्मेलन गर्ने प्रस्ताव गरेका थिए । उक्त सम्मेलनको विषयमा प्रचण्डले पेरिसडाँडामा आफ्ना कार्यकर्ताको प्रशिक्षणमा सुनाएका थिए । त्यसलगत्तै महतनिकट अर्थशास्त्रीले सम्मेलनको विरोधमा प्रतिक्रिया दिएका थिए । त्यति मात्र होइन, प्रचण्डले परियोजना कार्यान्वयनको सन्दर्भमा उच्चस्तरीय संयन्त्र बनाउने तयारी गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको सुझावमा मन्त्रालयहरूबीच समन्वय गर्न उक्त संयन्त्र बनाउने तयारी थियो । त्यसमा पनि मन्त्री महत असहमत मात्र देखिएनन्, संयन्त्र नबनाउने परिस्थिति निर्माणमा सक्रिय रहे । यी दुवै एजेन्डामा असफल भएका प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतबीच नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषयदेखि ब्रोकर लाइसेन्सको विषय पनि विवादमा परेका थिए । त्यसो त, पाँचखालमा निर्माण हुन लागेको महिला उद्यमी ग्रामको सन्दर्भमा पनि प्रचण्ड र महतबीच मतभेद छ । महतले भोटका लागि निर्णय गरेको भन्दै प्रचण्डले महिला उद्यमी महासंघको टोलीसमक्ष असन्तुष्टि राखेका थिए ।
महासंघलाई बाइपास गरेर अर्थमन्त्री महतले पाँचखालमा कांग्रेसकै ठेकेदार ध्रुव रिजाल र उनकी श्रीमती प्रमिला रिजालको एनजीओलाई जिम्मा दिएका छन् । अर्थमन्त्रीकै अगुवाइमा महिला उद्यमी महासंघलाई बाइपास गरी रिजालको दक्षिण एसियाली महिला विकास मञ्चलाई जिम्मा दिइएको छ । त्यसको विवाद चर्किरहेको छ ।
त्यसो त, मोहन बस्नेतको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । टेरामक्स खरिदको सन्दर्भमा बस्नेतलाई बयानका लागि खबर गरेको छ । बस्नेत बयानका लागि आयोग गएका छैनन् । प्रधानमन्त्री प्रचण्ड बस्नेतको विषयले पनि तनाव भइरहेको बताउने गरेका छन् ।
प्रचण्डनिकट स्रोतका अनुसार बस्नेतलाई मन्त्रीबाट फिर्ता गर्नका लागि प्रचण्डले देउवालाई आग्रह गरेका छन् । तर, देउवा सहमत भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले निकटस्थसँग बस्नेत मात्र होइन, मन्त्री रिजालमाथि पनि अख्तियारले छानबिन गरिरहेको बताएका छन् ।
त्यसो त, पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि टेरामक्स प्रकरणमा छानबिनको दायरामा तानिएका छन् । उनी आयोगले बोलाउँदा पनि बयानमा भने गएका छैनन् । यी दुईको बयानअघि आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसँग बयान लिएको छ ।
सभापति देउवाका बलियो खम्बा मानिएका कार्की र बस्नेतमाथि अख्तियार लाग्ने स्थितिमा सरकार नै अफठ्यारोमा पर्ने निश्चितजस्तै छ । देउवाका अर्का विश्वासिला खम्बा बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि निकै कमजोर बन्दा देउवा पनि अप्ठ्यारोमा परेका छन् । त्यसमा बस्नेत र कार्की पनि अख्तियारको मुद्दामा मुछिए देउवा थप अप्ठ्यारोमा पर्नेछन् ।
त्यसैले, अहिले देउवा सरकार तत्काल फेरबदल गर्नेभन्दा पनि टेरामक्सको छानबिनबाट बस्नेत र कार्कीलाई बचाउने प्रयासमा रहेका छन् । प्रचण्डनिकट स्रोतका अनुसार देउवाले उक्त सन्देश प्रचण्डलाई पनि सुनाइसकेका छन् । र, आरजु राणा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेर छानबिनलाई रोक्नका लागि पहल गर्ने गरी छलफल गरेकी छिन् । राणाको प्रयासचाहिँ ओलीमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई भनसुन गराउने भन्ने थियो ।
राणाले भेट गरेपछि ओलीको प्रयास कस्तो भयो भन्नेचाहिँ अहिलेसम्म प्रस्ट भएको छैन । तर, देउवामा भने थप त्रास बढेको छ । त्यसमाथि सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेपछि देउवा थप दबाबमा परेका छन्, जुन प्रधानमन्त्री प्रचण्डलाई देउवा स्वयम्ले शेयर गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीसँग आजित भएको बताउने, अर्कातिर देउवाले प्रचण्डबाट आफ्ना नेता र मन्त्रीहरूलाई अप्ठ्यारोमा पारेर आफूलाई दबाबमा राखेको बताउने गरेका छन् । अर्थात्, अहिले प्रचण्ड र देउवा एकअर्कोबाट अप्ठ्यारो र दबाब मात्रै महसुस गरिरहेका छन् ।