काठमाण्डाैं ।करिब ४६ हजार राहत शिक्षक शिक्षक सेवा आयोगले लिने परीक्षामा भाग लिन पाउने भएका छन् ।शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयकमा भनिएको छ, ‘राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकलाई यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा भाग लिन उमेरहद लाग्ने छैन ।’
कूल दरबन्दीका ५० प्रतिशत सिटमा यो ऐन प्रारम्भ हुँदाका बखत राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरूमध्येबाट सीमित प्रतिस्पर्धाका आधारमा र बाँकी पचास प्रतिशत सिटमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिने विधेयकमा भनिएको छ ।
राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटाका लागि छुट्याइएको पचास प्रतिशत सिटमा सो वर्षको विज्ञापनमा पदपूर्ति हुन नसकेमा अर्को वर्ष खुला प्रतियोगिताको आधारमा हुने विज्ञापनबाट बाँकी सिटमा पूर्ति गरिने प्रस्ताव मन्त्रालयले गरेको छ ।
‘प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकले गरेको सेवा अवधिको आधारमा सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछ,’ विधेयकमा भनिएको छ ।
कक्षा ११ र १२ अध्यापन गरिरहेका शिक्षकलाई यो ऐन प्रारम्भ भएपछि आयोगबाट लिइने माध्यमिक तहको तृतीय र द्वितीय श्रेणीको खुलातर्फको विज्ञापनमा भाग लिन उमेरहद नलाग्ने विधेयकमा भनिएको छ । आधारभूत तहको विषयगततर्फ द्वितीय र प्रथम श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने २० प्रतिशत पदमा सो पदका लागि तोकिएको न्यूनतम योग्यता भएको र दफा ६३ बमोजिम सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत एक श्रेणीमुनिका स्थायी शिक्षकहरूले प्रतिस्पर्धा गर्न सक्ने विधेयकमा उल्लेख छ ।
माध्यमिक तह द्वितीय श्रेणीको खुला प्रतियोगिताबाट पूर्ति हुने पदमा कम्तीमा माध्यमिक तहको तृतीय श्रेणी वा सोसरहको शिक्षक पदमा पाँच वर्ष अध्यापन गरेका शिक्षकमध्येबाट प्रतिस्पर्धाको आधारमा पदपूर्ति गरिने भनिएको छ । ‘त्यस्तो शिक्षकले कुनै विद्यालयमा एक वर्षभन्दा कम अवधि अध्यापन गरेको भएमा त्यस्तो सेवा अवधि गणना गरिने छैन,’ विधेयकमा भनिएको छ । माध्यमिक तहको तृतीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने ३० प्रतिशत पदमा सो पदका लागि तोकिएको न्यूनतम योग्यता भएको र दफा ६३ बमोजिम सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत स्थायी शिक्षकहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
विधेयकको दफा ६३ मा बढुवाका लागि न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता तोकिएको छ । आधारभूत तहका लागि चार वर्ष र माध्यमिक तहका लागि पाँच वर्ष सेवा अवधि पुगेको हुनुपर्ने व्यवस्था छ ।