काठमाडौं । मालवेयर र भाइरस धेरै नयाँ विषय होइनन् । तर पछिल्ला केही वर्षहरूमा कुनै पनि डिभाइस मालवेयर र भाइरस विहिन छैनन् र यसको आकम्रण दिन प्रदिन बढ्दै पनि गइरहेको छ । विशेषगरी एन्ड्रोइड फोन मालवेयरबाट धेरै संक्रमित हुने गरेको छ ।
एन्ड्रोइड फोनमा विभिन्न थर्ड पार्टी वेबसाइट, एप, फिशिङ इमेल तथा मेसेजहरूबाट मालवेयर इन्स्टल हुने गर्छन् । कहिलेकाही त आफू सावधान हुँदाहुँदै पनि फोन संक्रमित हु्नसक्छ ।
यस्तोमा आफ्नो एन्ड्रोइड फोनलाई विभिन्न प्रकार मालवेयर तथा भाइरसबाट कसरी जोगाउने त ? यहाँ मोबाइलमा भएका मालवेयर पत्ता लगाउने र हटाउने उपाय उल्लेख गरिएको छ ।
फोनमा मालवेयर भएको कसरी थाहा पाउने ?
१. समय- समयमा एपहरू क्रयास हुनु
फोनमा भएका बग अथवा अन्य विभिन्न कारणले कहिलेकाही एपहरू क्रयास हुनु अर्थात् प्रयोग गर्दागर्दै अड्किनु वा ओपन गरेपछि नचल्नु सामान्य कुरा हो । तर यदि तपाईँको डिभाइसमा यो समस्या बारम्बार आइरहेको छ भने तपाईँ सचेत हुनुपर्छ । विभिन्न मालवेयरको कारण डिभाइसमा एप नचल्ने, ह्याङ हुने तथा प्रयोग गर्दा गर्दै आफै बन्द हुने वा अड्किने समस्या आउछ ।
२. डेटाको खपत बढ्नु
सामान्यतया हामीले मोबाइलमा डेटा प्रयोग गर्दा कति प्रयोग गर्यौ भन्ने कुराको ख्याल गरिरहेका हुदैनौं । तर यदि तपाईँको मोबाइले डेटाको खपत अस्वभाविक रुपमा गरिरहेको छ । सामान्य समय भन्दा धेरै डेटा खपत भइरहेको छ भने तपाईँको डिभाइसमा मालवेयर छ भन्ने संकेत हो ।
३. अनावश्यक मेसेज
यदि तपाईँ अनावश्यक रुपमा नचिनिने नम्बरबाट विभिन्न प्रकारका बुझ्न नसकिने मेसेज, कुनै
लट्री भनेर आउने मेसेज, कुनै लिंक क्लिक गर्नका लागि आग्रह गरिएको मेसेज अथवा असामान्य प्रकृतीको मेसेज प्राप्त गरिरहनु भएको छ भने तपाईँको फोन मालवेयरबाट संक्रमित भएको छ ।
४. ब्याट्रीको खपत बढ्नु
डिभाइसमा मालवेयर भएको पत्ता लगाउने सबैभन्दा सहज तरिका हो ब्याट्रीको खपत ख्याल गर्नु । मोबाइल अत्यावश्यक डिभाइस भएका कारण हामी बारम्बार चार्ज कम नहोस् भन्ने कुराको ख्याल गरिरहन्छौं । यसैले यदि तपाईँको मोबाइलको ब्याट्री खपत अनावश्यक रुपमा बढिरहेको छ भने तपाईँको मोबाइलमा मालवेयर इन्स्टल भएको हुनसक्छ । अन्य विविध कारणले पनि ब्याट्रीको खपत बढ्नसक्छ । तर मोबाइलमा अन्य समस्या नभएको अवस्थामा पनि ब्याट्री चाँडो सकिने समस्या भइरहेको छ भने यो मालवेयरको संकेत हो ।
५. फोन तात्तिने समस्या
संक्रमित डिभाइसमा ब्याकग्राउन्डमा चलिरहेको एपहरूले र्याम धेरै खपत गर्छ । यस्तोमा धेरै एपहरू एकैपटक चलिरहेको हुनसक्छ जुन प्रयोगकर्तालाई थाहा हुँदैन । आफूले सामान्य एप प्रयोग गर्दा पनि फोन छिट्टै तात्तिने समस्या हुन्छ । यो पनि मालवेयरको एक संकेत हो ।
६. अनावश्यक विज्ञापनहरू आउनु्
यदि तपाईँले आफ्नो फोनमा विभिन्न एप वा ब्राउजर प्रयोग गरिरहँदा अचानक अनावश्यक विज्ञापन आउँछ भने यो मालवेयरको कारण हो भनेर बुझ्न जरुरी छ । एउटा ब्राउजरमा जान खोज्दा अर्कै पेजमा ल्यान्ड हुने, विज्ञापनले गर्दा चलिरहेको एप नै बन्द हुने लगायतका संकेतहरू मालवेयरको संकेत हो ।
७. गुगलबाट स्वत: साइन आउट हुनु
गुगलले प्रयोगकर्ताको सुरक्षाको लागि स्वत: साइन आउट गर्ने फिचर ल्याएको छ । कतिपय अवस्थामा गुगलले प्रयोगकर्ताको डिभाइसमा मालवेयर डिकेक्ट गर्यो भने डिभाइसबाट उक्त इमेल साइट आउट गर्छ ।
८. अपरिचित एप देखिनु
डिभाइसमा आफूले इन्स्टल नै नगरेको विभिन्न एप प्रयोगमा रहेको देखिन्छ भने तपाईँको मोबाइल संक्रमित छ भनेर बुझ्नुपर्छ । साइबर अपराधीले तपाईँको डिभाइसमा आक्रमण गरेर मालवेयर इन्स्टल गर्न टाढैबाट पनि एप इन्स्टल गर्नसक्छ । यदि तपाईँले प्रयोग नगरेको र इन्स्टल गरेको याद नभएको एप डिभाइसमा देख्नुहुन्छ भने त्यो मालवेयर हो ।
यसरी हटाउनुहोस् मोबाइलको मालवेयर
१. मोबाइल स्क्यान गर्नुहोस्
म्याकफी सेक्युरिटीको सहकार्यमा सामसङले आफ्ना नयाँ स्मार्टफोनहरूमा भाइरस तथा मालवेयर स्क्यान गर्ने फिचर उपलब्ध गराएको छ । यदि तपाईँ पुराना सामसङका मोडल प्रयोग गर्नुहुन्छ भने प्ले स्टोरबाट नि:शुल्क भाइरस स्कयानर पनि इन्स्टल गरेर प्रयोग गर्न सक्नु्हुन्छ । नयाँ स्मार्टफोनका लागि भने तल दिइएको प्रक्रिया अपनाउनुहोस्:
– सेटिङमा गएर ब्याट्री एन्ड डिभाइस केयरमा क्लिक गर्नुहोस्
– डिभाइस प्रोटेक्सनमा क्लिक गर्नुहोस्
– स्क्यान फोनमा क्लिक गर्नुहोस्
अन्य एन्ड्रोइड फोनमा यसरी स्क्यान गर्नुहोस् मालवेयर
– पावर बटनमा लामो समयसम्म क्लिक गर्नुहोस् । पावर अफ अप्सनमा क्लिक गर्नुहोस् । यदि तपाईँको मोबाइलमा ‘सेफ मोड’ भन्ने अप्सन आएमा उक्त अप्सनमा क्लिक गर्नुहोस् अथवा रिबुटमा क्लिक गर्नुहोस्:
– यसपछि फोन अन गर्नुहोस् र आफूले प्रयोग गर्ने एपहरूको गतिविधि पहिल्याउनुहोस् । यदि कुनै एप शंकास्पद छ भने यस्तो एप डिलिट गर्नुहोस् ।
– कुनै एपहरू ह्याङ हुने, ब्याट्री धेरै खपत गर्ने, चलाउँदै चलाउँदै आफैं बन्द हुने प्रकारका छन् भने त्यस्तो एपलाई पनि डिलिट गर्नुहोस्
यसरी एपलाई सधैंको लागि अनइन्स्टल गर्नुहोस्:
– सेटिङमा गएर सेक्युरिटी एन्ड प्राइभेसिमा क्लिक गर्नुहोस्
– ‘अदर सेक्युरिटी सेटिङ’मा क्लिक गर्नुहोस्
– डिभाइस एडमिन एपमा क्लिक गर्नुहोस्
– आफूले डिलिट गर्न चाहेको एपमा क्लिक गर्नुहोस् र डिएक्टिभेट अप्सनमा क्लिक गर्नुहोस्
गुगल प्ले प्रोटेक्ट इनेबल गर्नुहोस्
– गुगले प्ले स्टोरमा गएर प्रोफाइल आइकनमा क्लिक गर्नुहोस्
– प्ले प्रोटेक्ट अप्सनमा क्लिक गर्नुहोस्
– टर्न अनमा क्लिक गर्नुहोस्
यी विभिन्न उपायको अतिरिक्त फोनको अपरेटिङ सिस्टम अपडेट गर्ने, फोन रिसेट गर्ने, पासवर्ड परिवर्तन गर्ने, नेटवर्क सेटिङ परिवर्तन गर्ने, लगायतका विभिन्न उपाय अपनाएर पनि मोबाइललाई संक्रमित हुनबाट रोक्न सकिन्छ ।
टेकपाना