पाँचथर । बुधबार दिउँसो मेची राजमार्ग पाँचथरको कान्छी दोकानमा माथिदेखि आएको भेलले सडक अवरुद्ध बनायो । कुदिरहेको जिपलाई लेदोले रोक्यो । माथिबाट लेदो आइरहेको थियो, गाडी अगाडि बढ्ने स्थिति थिएन ।
‘कुद्दाकुद्दै हिलोले रोकी त हाल्यो, पानी पर्नेबित्तिकै फसिहाल्छ । ठाउँ पनि उस्तै डरमर्दो छ,’ जिपचालक राजु अधिकारीले भने । उनले भनेझैँ कान्छी दोकानछेउमा माथिबाट आउने भेलले बाटो अवरोध गर्ने, गाडी फस्ने भइरहेको छ । बुधवार दिउँसो गाडी फसेपछि मेसिन (भ्याकुर) बोलाएर तान्नुपर्यो । गाडी रोकिएपछि दर्जनौँ गाडी रोकिए । यात्रु र चालक मिलेर ठेल्दा पनि केही उपाय लागेन ।
हरेक दिन यहाँ गाडी फसिरहेका छन् । लेदोसहित भेल आउँदा डरमर्दो छ । ‘यस्तो भिर छ, बर्खाभरि दुखः दिने रहेछ,’ यात्रु राजेन्द्र कार्कीले भने । कान्छी दोकान खण्डमा सडक जोखिमयुक्त बनेको छ । झरी पर्नेबित्तिकै समस्या हुने गर्छ ।