नेपाली कांग्रेसका सांसद दीपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएकाले पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत् आयोजनामा काम गर्ने १६ जना मजदुर बेपत्ता भएको र उनीहरूमध्ये ३ जना फेला परेको, एक जना मृत भेटिएको र बेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
उनले सो घटनामा परी खर्बौंको नोक्सान भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । सांसद खड्काले सो घटनाका परी बेपत्ता भएकाहरूको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरूलाई आग्रहसमेत गरे ।
सांसद खड्काले संखुवासभाको हेवा खोलामा बेपत्ता भएकाहरूको उद्धारका लागि खटिएका प्रहरीमात्रै पर्याप्त नभएकाले त्यसमा थप उद्धारकर्मीहरूको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।