सरला रेग्मी
केन्जो खबर । सरिताले सामाजिक संजालमा पोष्ट गरेको फेमिली फोटोमा तीन हजार लाइक र छ सय ५५ कमेन्ट छ । प्रायः सबै कमेन्टमा ‘ह्याप्पी फेमिली’ लेखिएको छ । उनका सामाजिक संजालका फोटो सबै उत्कृष्ट देखिन्छ । जागिर, पैसा, घर, परिवार पूरा गर्न सन्तान त चाहिने हो त्यो पनि छ । अर्थात एक छोरा एक छोरी छन् । अब के अभिलाषा होला र जीवनमा ? उनको फेसबुकको प्रोफाइन हेर्दा यी सबै चिज प्रष्ट देखिन्छ । नदेखिएको छ त केबल उनको सिरानी छेउमा राखिएको ‘फ्लुडिप २० एम जी’ । श्रीमानको कार्यालयमा काम गर्ने स्टाफसँगको लभ अफियरको खबर थाहापाए पछी दुई बर्ष देखि खादै छिन् त ‘फ्लुडिप’ अर्थात डिप्रेसनको दवाइ …
आकाश र शोभाको जोडि पनि क्या मस्त छ । दुबैको तस्बिर हेर्दा लाग्छ बिवाह भएको बर्षौ सम्मपनि सन्तान नहुदा उनिहरुको मुहारमा दुख कतै देखिदैन, देख्नेलाइ लाग्छ उनिहरु यसरी नै खुसी छन् । सामाजिक संजालको भित्तामा आकाशले हरेक रात शोभाको आँसु पुसिदिएको कतै देखिदैन । किनकी उनिहरुले देखाएकै छैनन् ।
पछिल्लो समय ईन्टरनेट द्रुत विकासले गर्दा सामाजिक संजाल प्रयोग कर्ताको संख्या धेरै छ । सबैभन्दा प्रचलित वेबसाइट स्टाटिस्टाको तथ्यांक अनुसार अहिले एकदिनमा करिब पाँच अर्बले फेसबुक प्रयोग गर्छन् । दैनिक करिब ८२ करोड ४० लाखले टिकटक प्रयोग गर्ने गरेको पाइन्छ । हरेक दिन यतिको संख्यामा सामाजिक संजाल हेर्दा व्यक्तिले जे देख्छ त्यँही सत्य भन्ने ठानिरहेको हुन्छ । सामाजिक सञ्जालमा राख्ने समाग्रिका आधारमा धारणा बनाउन थालिएको छ । पछिल्लो समय सामाजिक संजालमा पोष्ट्याएको तस्बिर, देखाएको भिडियोको आधारमा प्रतिक्रिया मात्र होइन त्यो व्यक्ती प्रतीको छुटै धारणाको बिकास गरिने गर्छ । हामी सबैलाई थाहा छ मोबाइलको ग्यालेरीमा भएको सयौ फोटोबाट आफुलाइ उत्कृष्ट देखिएको तस्बिर नै फेसबुकमा पोष्ट गर्छौ । म गर्छु भने अर्कोले पनि गर्छ भन्ने हामी देख्दैनौ । देख्छौ त उस्को फेसबुकको भित्तामा सजिएको मुस्कान सहितको तस्बिर अनि सोच्ने गर्छौ ‘रियल्ली सि र हि इज ह्याप्पि’ ।
बिबाहको सिजन शुरुभएको थियो । अचेल केटाकेटी सामाजिक संजालमै हेर्ने चलनपनि छ । सुयोगले साधनालाई पहिलो पटक सामाजिक संजालमानै देखे मनपराए, कुरा पनि मिल्यो, बिबाह गर्ने भए । पहिलो भेटमा केटिले आफ्ना चाहाना राखिन । उनको माग थियो बिवाहमा डाइमन रिङ, आइफोन १३ प्रो र १५ दिनमात्र भएपनी हनिमुन मनाउन बिदेश लैजानुपर्ने । केटिको प्रस्ताब सुनेर तीस हजार दुई सय तलब खाने केटोले बिबाह गर्न नसक्ने भयो । साधनाले अचेल टिकटकमा उनले यस्तै बिवाह मात्र देखेकी छिन् । त्यो बिवाह गर्न कति ऋण लिएको हो त्यहाँ देखाइदैन । देखाइन्छ त बाहिरी आवरणमात्र । जस्लाइ हामी रियालिटी सम्झन्छौ ।
साधना जस्ता धेरैलाई थाहा नै छैन कि हामी सामाजिक संजालमा या टिकटकमा जे देखिरहेका छौ त्यो नै बास्तबिकता हो या होइन ? सामाजिक सञ्जालमा जीवन यसरी देखाइरहेका छौ कि भोलिको दिन बिर्सिरहेका छौ ।
गत बर्ष बैशाख महिनामा इटहरीका एक दम्पतिले आफ्नी एक्लि छोरीको बिबाह यति भव्यगर्ने भएकी जसको परिणाम घर बेचेर भाडाको घरमा बस्न बाध्य बनेका छन् ।
सामाजिक संजालको व्यस्तताले हामि जीवनमा यति धेरै असामाजिक भयौ भन्ने उदाहरण भर्खर दुर्घटना भएको हवाईजहाज प्रकरणलाई लिन सक्छौ । दुर्घटनामा बचाउने भन्दा भाइरल बनाउने ट्रेडले समाज कता जाँदै छ भन्न सकिन्छ ।
हामीले सामाजिक सञ्जाल चलाउने भन्दापनि हामीलाई समाजिक सञ्जालले चलाउन थालेको छ ।
फेसबुकमा एउटा बुहारीग्रुप छ, त्यहाँ आएको एउटा स्टाटस बढो गज्जब थियो ।४ ० बर्षकी एक महिलाका दुई सन्तान जुन हुर्किसकेका छन् । सामाजिक संजालमा बेबि सावर गरेको भिडियो, फोटो देखेर उनी बेबि सावर गर्नलाई नै तेर्सो सन्तान जन्माउने रहर भएको भन्ने किसिमको पोष्ट थियो । हामी देखासिकीमा कति अलमलिदै गएको देखिन्छ ।
ठूलो टेवल, वरिपरि बस्ने साथिको जमघट अनि सबैको हात हातमा मोबाइल, तलाइ कस्तो छ भन्ने फुर्सत कहाँ छ कोहिसँग ? भेटहुँदा गफगाफ, ज्ञानगुनका कुरा, सुखदुख साटासट भन्दा पनि पहिले मोवाईलमा घोप्टीएका हुन्छौँ । पाखुरामा थपथपाउदै म छु तिम्रो साथमा भन्ने भेटिन कठिन छ ।
म, तपाईं अनि हामी आफ्ना महत्वपूर्ण कुरा, आफ्ना राम्रामात्र कुरा अरुले देखुन भन्ने चाहान्छौ । जतिसुकै फाटेको मोजा लगाएपनी बाहिर जुत्ता फाटेको लगाउन कोहि चाहादैनौ । किनकी बाहिर फाटेको लगाउदा अरुले देख्छ, खिसिट्युरी गर्छन् भन्ने लाग्छ । मान्छे अरुलाइ आफ्नो राम्रो कुरा मात्र देखाउन चाहान्छन् ।
हामिले देखेका छौ कसैले चर्पी बस्दाको फोटो या भिडियो पोष्ट गरेको ?
छ्या ! त्यस्तो चै कस्ले पोष्ट गर्छ हौ ।
अनि कुनै रेष्टुरेन्टमा खाएको ?
अ ! गर्छौ ।
किनकी ठूलो रेष्टुरेन्टमा खाएको फोटो पोष्ट गर्दा सम्पनता झल्किन्छ । घुमेको फोटोले तपाइ कति खुसी हुनुहुन्छ ? हेर्नेले मुल्यांकन गर्छन् ।
बिश्वमै सामाजिक संजाल प्रयोग गर्नेको प्रोफाइल हेर्दा उस्ले गरेका राम्रा कुरा मात्र देखिन्छ ।
मुस्कुराएका तस्बिर, खादैँ गरेका, घुमेका, रमाइलो गरेको तस्बिरमात्र पोष्ट गर्छौ ताकी जस्ले हामिलाइ फलो गरेका हुन्छन, उनिहरुले हामिलाइ राम्रो देखुन भन्ने चाहान्छौ ।
तपाईले फेसबुकमा रुदै गरेको फोटो पोष्ट गर्नु भएको छ ?
मैले त छैन् ,
आफुले दुख पाएको नि ?
त्यो पनि छैन् ,
अनि तपाईलाई दुख छैन् त ?
दुख कस्लाई हुदैन् र ?
अनि अरुले पोष्ट गरेको तस्बिर हेरेर कसरी आंकलन गर्ने कि यो व्यक्ती खुशी छ भनेर ? तर हामी हेरेकै भरमा यो अनुमान लगाउन पछि पर्दैनौँ कि उसको मुस्कानको पछाडी पनि मुस्कान छ कि छैन ?
सामाजिक संजाल प्रयोगकर्ताले रोएको फोटो पक्कै पोष्ट गर्दैन । अचेल टिकटकमा अभिनय गरेको पोष्ट गर्ला । तर फोटो पोष्ट गर्दा हासेकै फोटो पोष्ट गर्छ । यात्रामा गरेका दुःखद कथा भन्दा पुगेपछी बिताएको पलको फोटो कैद गर्छ । भेटिन्छन् दुःखका कथा तर ती कि आलेखमा भेटिन्छ कि किताबमा मात्र । सामाजिक संजालका भित्तामा त मात्र मुस्कुराएको फोटो देखिन्छ ।आफ्ना गल्ती पनि पोष्ट गर्दैनन् । आफ्ना संघर्षपनी देखाउदैनन्, देखाउछ त संघर्षपछिको सफलतामात्र ।
सुसिल अष्ट्रेलियामा के गर्छ कसैलाई थाहाछैन तर उस्ले मेलबर्नमा खिचेको तस्बिर देखेर उमेश घरमा बिदेश जाने सपना बुन्छ । सुसिलले भाडा तिर्न नसकेर कागजी बिबाह गरेर आफुलाइ बन्दकी लगाएको उ देखाउदैन । अनि उमेशले देखोस पनि कसरी ? उस्ले त सुसिलको मोजमात्र देखेको छ ।जीवनमा आएका कयाँै भोगाइ त्यो व्यक्तिले समाजिक संजालमा देखाउदैन । उस्ले देखाउने भनेको मुस्कान मात्र हो ।
नजिकका मान्छे आफुलाइ सामाजिक संजालमा जसरी देखाइरहेका छन् , हामिपनी त्यस्तै बन्न खोजिरहेका हुन्छौं ।
के तपाइँलाइ थाहा छ सबै भन्दा बढि बहस आजकाल कहाँ हुन्छ ?
चिया पसलमा, सभा बैठकमा वा अनन्य विशिष्ट समारोहमा । अब यो क्रम घट्दै गयो ।
बहस, राजनीति, कुराकानी, सम्बन्ध बन्ने र बिग्रने सामाजिक संजालमा व्याप्त छ । सामाजिक संजाललाई असामाजिक बनाउँदै लैजादा यस्को नकारात्मक असर बढिनै देखिन्छ । साना नानीहरुनै विद्यालय उमेरमै समाजिक संजालमा हराईरहेका भेटिन्छन् ।
मनोविद् नानी थापा भन्छिन् –सामाजिक संजाल अहिले देखावटी गर्ने थलो बन्दै गएको छ, ‘भर्चुवल वल्र्ड वा डिजिटल संसारमा धेरै समय विताउने मानिसहरुको समाजिक विकासमा नकारात्मक असर पर्छ । उनीहरुको सृजनशिलता र रचनात्मक शक्तिमा ह्रास आउँछ ।’
उनि भन्छिन् ‘यसलाई खुशिसँग जोडिएर हेर्ने हो भने चै सामाजिक संजाल प्रयोग गरेर खुशि हुने,रमाउनेपनि छन् । अरुको जिवनको खुशि देखेर म किन यस्तो हुन सकिन भन्नेपनि छन् । उस्ले गर्नसक्ने म किन नसक्ने भन्ने हिम्मतपनि देखिन्छ । तर भर्चुवल वल्र्ड वा डिजिटल संसारमा धेरै समय विताउनेहरु वास्तविक संसारमा समायोजन हुन गाह्रो हुने गरेको पाइन्छ । उत्पादनमुलक कार्यमा उनिहरुको सहभागिता कम हुने,सहभागी भएपनि गहिराईमा गएर त्यो काम गर्न सक्दैनन् । एउटा बिषयलाई फरक फरक तरिकाले सोचेर गर्ने क्षमतामा ह्रास आँउछ ।’
बिभिन्न अध्ययनले यो देखाएको छ कि ‘वास्तविक संसारका साथीहरूसँग कम समय बिताउनुले सामाजिक सम्बन्धमा विच्छेद निम्त्याउँछ । गलत सूचना र नकारात्मक प्रचारको एक्सपोजरले बालबालिकालाई बहकाउँछ र उनीहरूलाई सहजै प्रलोभनको शिकार बनाउँने ।’ बालबालिकाहरु वास्तविक भन्दा पनि काल्पनिक र कम्प्युटरको संसारमा रमाउन अभ्यस्त हुन्छन् ।
कतै हामीलाई पनि आफ्नो वास्तविकता छोडेर काल्पनिकतामा रमाउने बानी लागेको त छैन ?
प्रविधिप्रति यतिधेरै निर्भर र त्यसैमा मग्न हुनु पनि हुँदैन कि यसले हाम्रो जीवन नै अस्तव्यस्त बनाओस् । यसको लत नै लागोस् ।अर्को व्यक्तिको जीवन हेरेर आफू उहीँ जस्तो जिउन चाहिरहेका हुन्छौं, त्यो पनि संजालमा देखिएको दृश्यलाई मुल्यांकन गरेर ।
अचेल यस्तो लाग्छ, कुनै पनि व्यक्ति वास्तविक जीवनमा जति नै बेखुशी भएपनि अरुलाइ देखाउने जीवनमा उस्ले खुसिको घुम ओडेको छ । अचेल मान्छे मुस्कुराउँदैन उस्ले सामाजिक संजालमा देखाएको मुखुण्डोमात्र मुस्कुराउँछ ।
(पात्र काल्पनिक होइनन् यहाँ प्रस्तुत गरिएको नाम काल्पनिक हुन् )