काठमाडौँ ।पाँच दलीय सत्ता गठबन्धनलाई निर्वाचन क्षेत्रमा चुनौती दिन विपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग चुनावी गठबन्धन गर्ने अन्तिम तयारी गरेको छ। यद्यपि राप्रपा र लोसपा दुवैले धेरै सिट दाबी गर्दा उनीहरूसँग चुनावी तालमेल गर्न पनि एमालेलाई हम्मे परेको छ।
एमालेका एक स्थायी समिति सदस्यका अनुसार प्रतिनिधि सभामा राप्रपालाई देशभर ६–७ सिट दिन एमाले अध्यक्ष केपी ओली तयार छन्। तर राप्रपाले भने १०–१२ सिट दाबी गरिरहेको छ।
एमालेका ती नेताका अनुसार राप्रपाले दिएको प्राथमिकताका आधारमा झापा ३ मा राजेन्द्र लिङ्देन, बाँके-२ मा धवल शमशेर राणा, जुम्लामा ज्ञानेन्द्र बहादुर शाही, रुपन्देही-१ मा दीपक बोहरा, काठमाडौँ–१ मा रवीन्द्र मिश्र र चितवन–३ मा विक्रम पाण्डेसहित ६ जनालाई सिट छोड्न ओली तयार भइसकेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने अहिलेसम्म यसबारे औपचारिक निर्णय नभइसकेको जनाए। उनका अनुसार निर्वाचन क्षेत्रमा रहेका अधयक्ष राजेन्द्र लिङ्देन काठमाडौं आएपछि ओलीसँग निर्णायक छलफल हुनेछ।
‘अध्यक्षज्यू झापाबाट काठमाडौँ आएपछि तालमेलबारे थप छलफल हुन्छ होला,’ श्रेष्ठले भने।
ओलीले आफ्ना विपक्षीलाई साइजमा ल्याउन केही रणनीतिक महत्वका क्षेत्रमा राप्रपालाई छाड्न खोजेको देखिन्छ।
२०७४ मा पनि झापा ५ मा ओलीलाई समर्थन गरेर लिङ्देनले एमालेको साथमा झापा ३ मा जितेका थिए। यसपटक पनि झापामा त्यो गठबन्धन दोहोरिने निश्चत देखिएको छ।
चितवन ३ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो, जहाँ राप्रपाका पाण्डेलाई छोडेर आफ्ना तिक्त प्रतिद्वन्द्वी प्रचण्डमाथि दबाब बढाउन चाहेका छन्, ओलीले। त्यसै अभियान अन्तर्गत केही साताअघि चितवन माओवादीका केही प्रभावशाली नेताहरूलाई ओलीले एमालेमा भित्र्याएका छन्।
रुपन्देही ओलीका लागि अर्को रणनीतिक क्षेत्र हो, जुन क्षेत्र राप्रपाका बोहरालाई छाड्दा एमालेभित्रै आफ्ना कटु आलोचक घनश्याम भुसाललाई पाखा लगाउन सहज हुन्छ। बोहरालाई एमालेले यो क्षेत्र छाड्नुको सिधा अर्थ हो, एमालेभित्र ‘दश भाइ’ मध्येका एक एक भुसालले टिकट पाउने छैनन्।
त्यस्तै राप्रपा प्रवेश गर्नुअघि नै ओलीसँग भेटेर मिश्रले काठमाडौँ १ मा आफूलाई छाड्न आग्रह गरिसकेका छन्। मिश्रलाई छाड्दा काठमाडौँमा कांग्रेसको एक सिट घटाउन सकिन्छ भन्ने ओलीले ठानेका हुन सक्छन्।
आफ्नो हिसाब किताबमा एमालेले लोसपाभन्दा राप्रपासँगको तालमेल लाभदायी हुने देखेको छ। तर ६ सिट लिन ओलीले राखेको प्रस्तावमा राप्रपा सन्तुष्ट छैन र अहिलेसम्म सहमति पनि बन्न सकेको छैन।
राप्रपा सम्वद्ध स्रोतका अनुसार राप्रपाले एमालेसँग कम्तिमा १० सिट आफूलाई छाड्न आग्रह गरेको छ। जसमा माथिका ६ बाहेक राप्रपाले मोरङ–३ मा रेखा थापा, दैलख–१ मा कुन्ती शाही, धादिङ–१ मा बुद्धिमान तामाङ लगायतलाई छोड्न आग्रह गरेको छ।
अर्कोतिर राप्रपा नेपालका कमल थापा पनि एमालेसँग नै चुनावी तालमेल गर्न कस्सिएका छन्। एमाले स्रोतका अनुसार राप्रपा नेपालका अध्यक्ष थापा एक जनालाई मकवानपुरमा छाड्न एमाले तयार छ।