झापा । झापाको बिर्तामोडमा १२ वर्षअघि स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।सम्बन्धन पाएसँगै दशैंतिहारको बिचबाट भर्ना खुला गर्ने कलेज प्रशासनले जनाएको छ ।आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको सो कलेजले १२ वर्षको अन्तरालमा ठूलो क्षति व्यहोर्नु परेको छ ।
कलेजका सञ्चालक युवराज प्रसाईले करोडौं लगानी गरेर बसेको वर्षौपछि सम्बन्धन पाएको र अब चाँडैं पठनपाठन शुरु गर्ने बताए । उनले १२ बर्षपछि खोलो फर्किएको प्रतिक्रिया दिए ।उनले १२ वर्षमा कलेजभित्रका धेरै सामग्रीमा समेत क्षति भएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली भदौमा झापा आएका बेला कलेजको स्थलगत अवलोकनमा पुगेका थिए ।
एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले कलेजले अवलोकनका लागि अध्यक्ष ओलीलाई त्यहाँ पुर्याएका थिए । पछिल्लो समयमा खरेलकै पहलमा उक्त कलेजले सम्बन्धन पाएको बताइएको छ ।अर्जुनधारा ११ मा निर्माण गरिएको पाथीभरा कलेजले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत अनुप पराजुलीले बताए ।
कलेजमा स्नातक तहका सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि भर्ना खुलिसकेको उनले बताए ।कलेजले सबै विषयमा ४८/४८ जना विधार्थी पढाउन पाउनेछ । २७ कठ्ठा जमिनमा निर्माण भएको कलेजमा धेरै संरचनाहरु विग्रिएका कारण ती सामान पुनः बनाउनुपर्ने अवस्था रहेका पराजुलीले बताए ।