दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । ६ महिनाअघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको खुलासा भएको हो । राजेश तीन हप्ताअघि मात्रै कोरिया आएका थिए ।
‘उनीहरू कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यसअघि कुनै झगडा भएको थाहा भएन,’ घटना भएको कम्पनीमा ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घटना भयो हामी पनि आश्चार्यमा छौं ।’
घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए ।
‘हामी सबैले ८ बजेसम्म सँगै काम गरेका थियौं । म १० बजेतिर नुहाएर बाहिर निस्कँदा भाइहरूको कोठाको बत्ती निभेको थियो । मैले सुतिसकेछन् भनेर आफ्नो कोठामा ढोको लगाएर घरतिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्यौं ।’
प्रहरी आएर हेर्दा प्रकाशको मृत्यु भइसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।
सोलमा रहेको नेपाली राजदूतावासले घटनाबारे अनौपचारिक रुपमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत् आधिकारिक जानकारी भने अझै नआएको जनाएको छ । ‘गम्भीर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ,’ सोलस्थित कार्यवाहक राजदूत रामसिंह थापाले भने ।
‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई जे जानकारी दिन्छ त्यसपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।
सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यसअघि नेपाली कामदार कुनै गम्भीर खालका अभियोगमा कारागार पुगेका छैनन् ।
इकान्तीपुर