काठमाडौं । इलाम नगरपालिकाले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्न पहल थालेको छ। इलामबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र विज्ञहरूले नगरपालिकाको कदममा साथ दिने प्रतिबद्धता जनाएका छन्।
‘नगरपालिकाको पहलकदमीमा मेरो दृढ साथ छ। ठोस प्रस्ताव बनाएर अगाडि बढ्नुपर्छ’, एकीकृत समाजवादी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने। एमाले नेता एवं पूर्वसभामुख सुवास नेम्बाङले यो प्रयास सकारात्मक रहेको बताए।
यो अवधारणामा छलफल गरी अझै विकसित गर्न सकिने नेम्बाङको भनाइ छ। कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले नगरपालिकाको कदमप्रति खुसी व्यक्त गरे। कांग्रेसकै केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले इलाममा मेडिकल कलेज खोल्दा उपलब्धिमूलक हुने बताइन्। यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता परियारले जनाइन्।
नगरपालिकाले बिहीबार सरोकारवालालाई भेला गरी काठमाडौंमा छलफल चलाएको थियो। डा. जनक कोइराला, डा. राजेन्द्रराज वाग्ले, डा.धर्मप्रसाद खनाल, प्रमिला देवान, मिलन गुरुङ, मनोज न्यौपाने, श्याम भुर्तेललगायत विज्ञले आर्थिक, जनशक्तिलगायत पाटोबारे सुझाव दिएका थिए।
मेयर केदार थापाले प्रतिष्ठानको डीपीआर बनाई संघ र प्रदेश १ सरकारलाई सहयोग गरिदिन उपलब्ध गराएको बताए। उनका अनुसार नगरपालिकाले बनाएको आर्थिक तथा जग्गा व्यवस्थापन सहयोग समितिले काम गरिरहेको छ। सोही कोषमा चालू आर्थिक वर्ष २५ विनियोजन गरिएको छ। प्रतिष्ठानको पूर्वाधारका लागि इलाम अस्पताललाई ३ सय शय्याको शिक्षण अस्पतालमा स्तरोन्नति आवश्यक रहेको उनले बताए।
इलाम अस्पतालबाट पाँच किलोमिटर क्षेत्रमा १ हजार ४ सय ३० रोपनी जग्गा व्यवस्थापन गर्न सकिने देखिएको छ। स्थानीयवासीको अधिग्रहण गर्नुपर्ने जग्गा ६७ रोपनी रहेको उनले बताए।
‘इलाम मेची अञ्चलको केन्द्रमा रहेको र राजनीतिक, सामाजिक, भौगोलिक, वातावरणीयलगायत थुप्रै अवसरहरू तथा पूर्वी भारतका दार्जिलिङ, सिक्किमलगायत क्षेत्रका बासिन्दाको पनि पहुँचमा भएकाले रणनीतिक रूपमा यसको सेवा क्षेत्र बृहत् छ’, थापाले भने।