ताप्लेजुङ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल गएका फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका सुकराज सामेखाम लिम्बूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान डाक्टरले सल्लाह दिए ।
त्यही सल्लाह अनुसार उनले झापाको बिर्तामोडका अस्पतालमा देखाए । झापाका अस्पतालले भरतपुरको क्यान्सर अस्पताल रेफर गरे । त्यहाँ पुगेपछि थाहा पाए कलेजोमा क्यान्सर भएको छ र उपचार सम्भव छैन १
डाक्टरले समयावधिसमेत तोकिदिएपछि घर फर्किए र कपुरखान (चिहान) बनाउन थाले । दुई श्रीमतीका पति उनले आफ्ना लागि मात्रै नभएर दुवै श्रीमतीका लागि चिहान बनाए । सुकराजका जेठा छोरा भीमकुमारका अनुसार कपुरखान बनाइसकेको झण्डै तीन सातापछि सोमबार बेलुका उनको मृत्यु भयो । ‘डाक्टरले चारदेखि पाँच महिना भन्नुभएको थियो,’ भीमले भने, ‘पाँच महिना लाग्दै बित्नुभयो ।’
लिम्बू समुदायमा मत्युपछि शवलाई खाडल खनेर राख्ने र त्यसको वरिपरि सिमेन्ट लगाएर घरजस्तै बनाउने प्रचलन छ । जसलाई कपुरखान भनिन्छ । सुकराजले जेठी श्रीमती भगीमाया, कान्छी कीर्तिमाया र आफ्ना लागि समेत गरी लहरै तीनवटा चिहान बनाए । बीचमा आफ्नो शव राखिदिन छोरालाई प्रस्ताव गरे । त्यसलाई जस्तापाता लगाएर माथिबाट छानो हाले ।
‘बुबाले आफ्नो चिता आफैं बनाउँछु भनेपछि हामीले पनि खाल्टो खन्न, बनाउन सहयोग गर्यौं,’ भीमकुमारले भने, ‘सिमेन्ट, रड र बालुवा किन्दा ३५ देखि ४० हजार खर्च भयो होला अरु त आफैंले श्रम लगाएर काम गर्यौं ।’
आफ्नो चिता बनाउन अरुले दुःख नपाउन भनेर बुबाले आफैं प्रयत्न गरेको र त्यसलाई परिवारले साथ दिएको उनले बताए । २०१८ साल पुस २१ गते जन्मिएका सुकराजका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् ।