काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सचेतनामूलक वृत्तचित्र तयार पारेको छ । याे वृत्तचित्रमा साइबर ब्यूरो, वित्तीय संस्था लगायतले साइबर अपराधसम्बन्धी आफ्ना धारणा राखेर सर्वसाधारणलाई सचेत हुन अनुराेध गरेका छन् ।
विश्वको प्रमुख समस्यामध्यको एक साइबर अपराधबाट नेपाल पनि अछुत छैन । दिनानुदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी विभिन्न घटनालाई मध्यनजर गर्दै सचेतनाका लागि याे भिडिओ सामग्री निर्माण गरिएको हाे ।
साइबर अपराधका घटना बढ्दै गएपछि नेपाल सरकारले नेपाल प्रहरीभित्र २०७५ साल जेठ २७ गते एउटा छुट्टै सङ्गठनका रूपमा साइबर ब्यूरो स्थापना गरेको थियो ।
अनलाइनका विभिन्न माध्यम र प्रविधि प्रयोग गरी दिनानुदिन बढ्दै गएका यस्ता घटना नियन्त्रण गर्न नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोले त्यस्ता घटनालाई प्राथमिकताका साथ काम कारबाही अगाडि बढाइरहेको सो भिडिओ सामग्रीमा उल्लेख छ ।
बढ्दो साइबर अपराधलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्छन्, ‘ मेहनत नगरेको सम्पत्तिमा लोभलालच नगर्ने हो भने ठगीका घटनाबाट धेरै हदसम्म बच्न सकिन्छ । सामाजिक सञ्जालको प्रयोगले साथीहरू जोड्न, आफन्तसँग कुरा गर्न सहज बनाएको छ भने अर्कोतर्फ अपराध पनि बढिरहेको छ । मानिसहरू सामाजिक सञ्जालबाट हुने अपराधबारे सचेत हुनुपर्छ ।’
प्रायः मानिसहरू अनलाइन तथा प्रविधिको प्रयोग गरेर धेरै धन आर्जन गर्ने सपनाले ठगीका घटना परेको भन्दै त्यसबाट बच्न अनावश्यक मानिसहरूको भर नपर्न कोइरालाले अनुरोध गरेका छन् ।
जसरी डिजिटल प्रविधि र साइबर विकसित हुँदैछन्, त्यसरी नै साइबर अपराध पनि फरक-फरक रूपमा विकसित हुँदै गइरहेका छन् । ठगी वा साइबर अपराध सधैँ उही प्रकृतिका हुन्छन् भन्ने हुँदैन ।
आज कोही एउटा शैलीले ठगिएको छ भने अर्को दिन अर्को मान्छे नयाँ शैलीले ठगिन सक्छ । त्यसैले सामाजिक सञ्जालबाट हुने सबै किसिमका आपराधिक क्रियाकलापबारे जानकार भएरमात्र त्यसको प्रयोग गर्न कोइराला सुझाव दिन्छन् ।
अनलाइनको प्रयोग बढेसँगै देशमा डिजिटल बैंकिङ सेवाकाे प्रयाेग तीव्र गतिले बढिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।
उनी भन्छन्, ‘डिजिटल बैंकिङलाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको छ । डिजिटल बैङ्किङको प्रयोग बढेसँगै मानिसहरू विभिन्न तरिकाले ठगिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालका विभिन्न माध्यमबाट चिठ्ठा परेको भन्दै मानिसहरू ठगीका घटना एउटा ठाउँमा छन् भने व्यापार व्यवसायमा सहयोग गर्ने प्रलोभनले ठगी गर्ने गर्छन् ।’
यस्ता ठगीका घटनाबाट बच्न सामाजिक सञ्जालमा जोडिन आएका अपरिचित मान्छेबाट टाढै रहन उनी सुझाव दिन्छन् ।
उनी भन्छन्, ‘सामाजिक सञ्जालमा अपरिचित मान्छेलाई अस्वीकार गर्नुपर्छ । यदि ह्वाट्सएप, भाइबर, इमोजस्ता माध्यमबाट कोही अपरिचित मान्छेले फोन गरेको छ भने भरसक उठाउँनुहुँदैन । उठाए पनि आफ्ना संवेदनशील विवरण दिनुहुँदैन ।’
मानिसहरू नेपालको बैंक वा नेपाली नम्बरमा भएका फोनमा बढी विश्वास गर्ने गर्छन् । आपराधिक मानसिकता भएका व्यक्तिले गरिब, बुढापाका तथा सोझा मानिसलाई झुक्काएर उनीहरूको बैंक अकाउन्ट खोलिदिने वा उनीहरूको नामबाट सिम निकालेर त्यसबाट ठगीका काम गर्ने गरेको साइबर ब्यूरोको अध्ययनले देखाएको छ ।
त्यसैले अनलाइन वा फोनमा आएका कल वा म्यासेजको भर पर्न हुँदैन । कुनै पनि अपरिचित मान्छेलाई आफ्ना व्यक्तिगत विवरण जस्तै; नागरिकता वा कुनै किसिमका विवरण नदिन साइबर ब्यूरोले सुझाव दिएको छ ।
साइबर ब्यूरोका प्रवक्ता एवं वरिष्ठ उपरीक्षक नविन्द अर्याल भन्छन्, ‘नेपालमा विगत तीन-चार वर्षदेखि साइबर अपराधका घटना बढ्दै आइरहेका छन् । देशमा ९५ प्रतिशत जनसङ्ख्यासँग स्मार्टफोन छ भने ७० प्रतिशतभन्दा बढीसँग इन्टरनेटको पहुँच छ । यसमा प्रविधिको सदुपयोग जति बढेको छ, आपराधिक गतिविधि पनि त्यत्तिकै मौलाएको छ । त्यसैलाई नियन्त्रण गर्न नेपाल सरकारले साइबर ब्यूरो स्थापना गरेको छ ।’
सामाजिक सञ्जालबाट हुने विविध आपराधिक गतिविधिबाट सजग हुन उनी अनुरोध गर्छन् ।
सामाजिक सञ्जालमा हुने आपराधिक गतिविधिबाट बच्न साइबर ब्यूरोले तल उल्लेखित कुरामा ध्यान दिन अनुरोध गरेको छ ।
- कुनै पनि सामाजिक सञ्जाल वा एप्लिकेसनको पासवर्ड राख्दा गोप्य र अनुमान गर्न नसकिने (जस्तैः अक्षर, अङ्क, स्पेसल क्यारेक्टर सम्मिलित र टु स्टेप भेरिफिकेसन इनेबल गर्ने) पासवर्ड राख्ने
- पासवर्डलाई समय समयमा परिवर्तन गरिरहने
- कसैलाई आफ्नो व्यक्तिगत पासवर्ड नदिने
- अपरिचित व्यक्तिबाट प्रलोभन देखाई आउने ईमेललाई नखोल्ने र प्रतिउत्तर नदिने
- साइबर क्याफे जस्तो धेरैले प्रयोग गर्ने स्थानबाट सकेसम्म इन्टरनेट बैंकिङ जस्ता संवेदनशिल कारोबार नगर्ने
- ईमेल र फेसबुक जस्ता ससोसल नेटवर्किङ साइटहरू प्रयोग गरिसकेपछि अनिवार्य लग आउट गर्ने
- सार्वजनिक स्थलमा उपलब्ध इन्टरनेट प्रयोग गर्दा भरसक संवेदनशिल विवरण भएका एप नखोल्ने, यदि खोल्लै परे पनि पासवर्ड सेभ नगर्ने
- सामाजिक सञ्जालमा आफूले चिनेका मानिसहरूलाई मात्र एड गर्ने
- अनलाइनमा भेटिएका साथीसँग सकेसम्म कुराकानी नगर्ने, गर्नै परे पनि सीमित कुराहरू मात्र गर्ने
- आफ्नो र आफ्ना साथीहरूको व्यक्तिगत विवरण अनलाइनमा पोस्ट नगर्ने, गर्नुपर्ने अवस्था आए व्यक्तिगत विवरण ब्लर गर्ने
- चिट्ठा, उपहार वा अन्य कुनै बहनामा आउने आफू सुनिश्चित नभएका लिंक तथा म्यासेज नखोल्ने
अपराध र आपराधिक शैलीमा प्रविधिको प्रयोग बढ्दो छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट हुने अवैध वस्तुको कारोबार तथा अरबौं मूल्य बराबरको लागू पदार्थको ओसार पसारमा समेत इन्टरनेट र प्रविधिको व्यापक प्रयोग भएको साइबर ब्यूरोको उक्त रिपोर्टमा उल्लेख छ ।
त्यस्तै सामाजिक सञ्जाल ह्वाट्सएपबाट ब्ल्याकमेलको घटनामा परेको पीडित राजन थापा बताउँछन् ।
सधैँझैँ उनले एक दिन ह्वाट्सएप प्रयोग गरिरहेका थिए । त्यतिकैमा उनको नम्बरमा एउटा कल आयो । त्यो कल एक अपरिचित नम्बरबाट आएको थियो । उनले ह्वाट्सएपमा कल उठाउना साथै उताबाट एउटा केटीले अश्लील क्रियाकलाप गरिरहेको देखाइयो ।
उनले त्यो देख्नासाथै कल काटिदिए । पछि एक जना पुरुषले उनलाई कल गरेर १८ लाख रुपैयाँ माग्न थाले ।
‘मलाई आफूले केही गल्ती गरेको छु भन्ने लागेकै थिएन । त्यस्तो कल आउनासाथै मैले कल काटेँ । पछि मलाई एक पुरुषले फोन गरेर १८ लाख दिन धम्की दिए । पैसा नदिएको खण्डमा फोटो र भिडिओ सामाजिक सञ्जालमा राख्दिने भन्दै डर देखाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्रमा भएको मेरो फोटो र अन्य सामाजिक सञ्जालमा भएका फोटो जोडेर उनीहरूले मेरो अश्लील भिडिओ बनाएका रहेछन् । त्यसपछि मलाई आत्महत्या गर्ने सोच आइरहेको थियो । तर, अन्तिममा नेपाल प्रहरीसँग सहकार्य गर्नाले म बँचेँ ।’
उनले आफूलाई परेको समस्या प्रहरीमाझ खुलस्त पारे । प्रहरीले आफ्नो तर्फबाट भरपुर सहयोग गरेर उनलाई त्यो समस्याबाट मुक्ति दियो ।
सामाजिक सञ्जालमा गरिने यस्ता क्रियाकलापलाई साइबर अपराध मानिन्छ । यदि तपाईंहरूमा यस्ता घटना भएका छन् भने तुरुन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ ।
साइबर ब्यूरोमा पछिल्लाे तीन वर्षमा साइबर अपराधका थुप्रै मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४३ वटा, २०७७/७८ मा ७६ वटा र २०७८/७९ को हालसम्म १०६ भन्दा बढी मुद्दा दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ ।
प्रविधिको प्रयोग बढेसँगै यसमा हुने आपराधिक गतिविधि बढ्नुले मुद्दाहरू बढ्दै जाने देखिन्छ । त्यसका लागि इन्टरनेट, फोन प्रयोग गर्दा हरेक कुरामा सजग हुन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
साइबर अपराध गर्ने व्यक्तिलाई घटनाको प्रकृति हेरी एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय वा दुवै हुनसक्ने विद्युतीय कारोबार ऐन २०६३ मा उल्लेख छ ।
साइबर ब्यूरोमा कस्ता घटना उजुरी दिने ?
- सामाजिक सञ्जालमा कसैले डर, त्रास वा धम्की दिएमा
- व्यक्ति, समूह वा कुनै संस्थामा ह्याकिङ, डेटा चोरी आदि गरी क्षति पुर्याएमा
- यौन आशयका सन्देश पठाएमा
- सामाजिक सञ्जाल वा अनलाइनमा अश्लील फोटो वा भिडिओ सामाग्री प्रसारण गर्ने धम्की दिई मानसिक तथा नैतिक दवाव दिएमा
- आर्थिक लाभ वा यौनजन्य क्रियाकलाप पूरा गर्ने आशय देखाएमा
- नैतिकतामा आँच आउने सामाग्री प्रसारण गरेमा
तपाईंहरूमध्ये कसैलाई सामाजिक सञ्जालका कुनै पनि माध्यमबाट कुनै किसिमको डर वा धम्की आएमा निर्धक्क नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सक्नुहुन्छ । वा साइबर ब्यूरोको ड्युटी अफिसरको नम्बर ९८५१२८६७७० वा ९८५१२८६७७१ मा आफ्नो गुनासो वा समस्या राख्न राखेर सुझाव लिन सक्नुहुन्छ ।
त्यस्तै साइबर ब्यूरोको आधिकारिक ईमेल एड्रेस cyberbureau@nepalpolice.gov.np मा आफ्नो समस्या लेखेर मेल गर्न सक्नुहुन्छ ।