बिराटनगर । प्रदेश १ सरकारले कृषि, उद्योग र रोजगारी सिर्जनालाई प्राथमिकता राखेर भोलि अर्थात् असार १ गते आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेट ३२ अर्बको थियो । यस पटक बजेटको आकार २० प्रतिशतले बढ्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
‘चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत बजेट बढ्ने देखियो,’ बजेटको आकार बढाउनुको कारण प्रस्ट पार्दै मन्त्री आङ्बोले भने, ‘संघीय सरकारबाट सामान्यीकरण अनुदान र राजस्व बाँडफाँटबाट करिब १० प्रतिशत वृद्धि भएर प्राप्त भएको छ । आफ्नो राजस्व पनि १० प्रतिशत हाराहारी वृद्धि हुने अपेक्षा छ ।’
सशर्त र समपूरक अनुदान पनि संघीय सरकारबाट विगत आर्थिक वर्षभन्दा यस पटक बढेकाले स्वाभाविक हिसावले बजेटको आकार बढ्ने उनको भनाइ छ । मन्त्री आङ्बोका अनुसार यस पटक प्रदेश सरकारले राजस्वको दरलाई सामान्य मात्रै हेरफेर गरे पनि राजस्वको दायरा भने व्यापक बनाउने तयारी गरेको छ । ‘हामीले थुप्रै क्षेत्रलाई करको दायरामा ल्याउँछौं । करको दरमा उल्लेख्य वृद्धि भएको छैन,’ उनले भने ।
संघीय सरकारले ल्याएको बजेटमा जस्तै प्रदेश सरकारले पनि आयातलाई प्रतिस्थापन गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य बजेटमा लिने भएको छ । त्यसका निम्ति कृषिलाई विशेष प्राथमिकता दिने, प्रदेश भित्रका घरेलु र साना उद्योगलाई प्रबर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कुरालाई प्रदेश सरकारले जोड दिने भएको छ ।
१ नम्बर प्रदेश निर्यातमा अन्य प्रदेशभन्दा अगाडि भएका कारण निर्यातलाई प्रबर्द्धन गर्ने गरी बजेटको तयारी भइरहेको मन्त्री आङ्बोले जानकारी दिए । ‘कृषि, उद्योग, रोजगारी सिर्जनालाई प्राथमिकता दिँदा उत्पादकत्व वृद्धि हुने, रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन हुने खालको बजेट आउँछ,’ उनले भने ।
प्रदेश सरकारले प्राथमिकता प्राप्त पूर्वाधार प्रदेश लोकमार्ग, प्रदेशका कतिपय रणनीतिक सडकहरू, खानेपानी, सिंचाई लगायतका ठूला आयोजनालाई आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गर्ने भएको छ । जसबाट रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई सहयोग हुने आर्थिक मामिला मन्त्रालयको विश्वास छ । पूर्वाधार निर्माणलाई पनि ठूलो परिमाणमा बजेट विनियोजन हुने मन्त्री आङ्बोले बताए ।