ओलाङ्चुङगोला । ताप्लेजुङको ओलाङ्चुङगोलामा रहेको दिकी छ्योलिङ गुम्बाका पुसो (पुजारी) भुला उक्याब ७५ वर्षका भए । उनलाई ओलाङ्चुङगोलाबाटै गाडी चढेर काठमाडौं पुग्ने रहर छ । उनीजस्तै ओलाङ्चुङगोलावासी कहिले गाडीको बाटो बन्छ र सुविधा पाइन्छ भन्ने आसमा बसिरहेका छन् ।
ओलाङ्चुङगोलामा भेटिएका पासाङ छिरिङ गाडीको बाटो आइपुगे यो ठाउँमा सुविधा थपिने बताउँछन् । ‘गाडीको बाटो आइपुगेर सदरमुकामसम्म गाडी चल्न थाले धेरै सुविधा हुन्थ्यो । हामीलाई जान–आउन सजिलो हुन्थो । पर्यटक पनि आउँथे होला,’ छिरिङले आफ्नो आशा सुनाए ।
ओलाङ्चुङगोलमा नेपाल–चीन सीमाना टिप्तलाबाट सडक आइपुगेको छ । तर, ताप्लेजुङहुँदै जाने उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको सडकको अपेक्षा यहाँका वासिन्दाको छ ।
चीनसँग जोडिने भएकाले यो सडक महत्त्वपूर्ण छ । यति मात्र होइन, उत्तर–दक्षिण जोड्ने छोटो सडकको रूपमा पनि हेरिएको छ । चीनसँग जोडिएको तिप्तलादेखि भारतसँग जोडिएको रानी भन्सार ३ सय किलोमिटरमा पर्दछ ।
पर्याप्त बजेट नहुँदा उत्तर-दक्षिण ओलाङ्चुङगोला लोकमार्गको काममा ढिलाइ हुँदै आएको छ । यो सडक हिमाली क्षेत्रका बासिन्दालाई सुविधा पुर्याउन मात्र नभई उत्तर–दक्षण जोड्ने छोटो सडक पनि हो । तर, पर्याप्त प्राथमिकता पाएको भने देखिँदैन ।
सडकको ट्रयाक खोल्ने काम सुकेपानीमा पुगेर रोकिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने भएकाले रुख कटान गर्न तथा विस्फोट गराउने अनुमति नहुँदा काम रोकिएको छ ।
‘विस्फोट गराई पहरामा बाटो खोल्नका लागि अनुमतिको काम भइरहेको छ । अर्को वर्षसम्म ट्रयाक खोल्ने काम सकिन्छ,’ उत्तर–दिक्षिण ओलाङ्चुङगोला लोकमार्ग कार्यालय ताप्लेजुङका प्रमुख अमिन्द्र खड्काले भने । खड्काका अनुसार २ किलोमिटर ट्रयाक बनाउन बाँकी छ । २ किलोमिटर भए पनि जटिल भूबनोट भएकाले निकै समय लाग्ने बताइएको छ ।
विस्फोट गराएर काम गर्ने अनुमति नहुँदा सबै काम रोकिएको निर्माण कम्पनी एसबीए/एलाइट जेभीका प्रतिनिधि राजीव लामिछानेले बताए । विस्फोट गरेर बाटो बनाउन अनुमति दिइएको छैन ।
रोकिएको ठाउँबाट दुई किलोमिटर टाढा रहेको रामछ्याङ पाटीसम्म ओलाङ्चुङगोलाबाट सडक आएको छ । चीनको टिप्तलादेखि ओलाङ्चुङगोलासम्म विभिन्न क्षेत्रबाट सहयोग जुटाएर सडक बनाइएको फाक्तालुङ– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए ।
‘नेपाल सरकारलाई भार नपर्ने गरी चिनियाँ मेसिन प्रयोग गरेर बाटो खनिएको थियो । ओलाङ्चुङगोलामा जन्मिएर काठमाडौं, अमेरिकालगायतका ठाउँमा रहेकाहरूको सहयोगमा ओलाङगोलमा सडक ल्याइएको थियो,’ छेतेनले भने, ‘गोलादेखि १० किलोमिटर तलसम्म नेपाल सरकारको बजेटले चिनियाँ मेसिन लगाएर ट्रयाक खुलाइएको थियो ।’
खुलेको ट्रयाक पनि धेरै ठाउँ भत्किएको छ । ओलाङ्चुङगोलासम्म चिनियाँ सरकारले स्तरोन्नति गर्ने गरी तयारी भए पनि कोभिडपछि काम अघि बढ्न सकेको छैन ।
ट्रयाक खोल्नेदेखि स्तरोन्नतिको काम अघि बढे मात्र यो क्षेत्रका बासिन्दाले सुविधा पाउने देखिन्छ । ट्रयाक खुलेर मात्र चीनसम्म गाडी पुग्ने अवस्था छैन । पुरानो ट्रयाक जताततै भत्किएको छ । त्यसलाई बनाउन पनि ठूलो बजेट आवश्यक हुने देखिन्छ । यति मात्र होइन, खोलाहरूमा पुल बनाउनुपर्ने हुन्छ ।
खुलेको सडक पनि जोखिमपूर्ण छ । यो लोकमार्गमा ट्रयाक खोल्नका साथै अन्य कामका लागि चारवटा ठेक्का सञ्चालनमा रहेको प्रमखु खड्काले बताए ।
पाँचथरको सुभाङखोलादेखि टिप्तलासम्म १ सय २१ किलोमिटर छ । सुभाङखोलमा तमोर कोरिडोर भेटिन्छ । सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्म जोड्ने तमोर कोरिडोर कालोपत्रे गर्ने चरणमा पुगेको छ । टिप्तलादेखि चतरा २ सय ५२ किलोमिटर छ । धनकुटाको भुलघाटदेखि भेडेटार–धरान हुँदै रानी भन्सार ३ सय किलोमिटरमा पुग्छ ।
यो सडक ओलाङ्चुङगोलावासीको भविष्यसँग जोडिएको बताउँछन् वडाध्यक्ष छेतेन । अहिले इलाडाँडा भन्ने ठाउँसम्म गाडी चल्छ । सडक भने जोखिमपूर्ण छ । इलाडाँडादेखि ओलाङ्चुङगोलासम्म खच्चडमा भारी बोकाउँदा प्रतिकेजी ५० रुपैयाँ भाडा तिुर्नपर्छ ।
गाडी पुगेपछि इलाडाँडासम्मको भाडा भने सस्तिएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट इलाडाँडामा प्रतिकेजी १० रुपैयाँ भाडामा सामान आइपुग्छ ।
‘यो सडक हाम्रो लागि महत्त्वपूर्ण छ । यातायतको सुविधा मात्र होइन, अन्य आयआर्जनका बाटो खुल्नेछन् । पर्यटक बढ्नेछन्,’ गोलाका व्यवसायी नुपु शेर्पाले भने, ‘प्रमुख आवश्यकता नै सडक हो । यहाँ बिरामी भयो भने बोकाएर कहिले पुर्याउनु ?’
प्रमुख खड्काका अनुसार यो खण्डमा १७ वटा मोटरेबल पुलको आवश्यकता पर्छ । यसका लागि ठेक्का खुलेको छैन ।