इलाम । प्रहरीले जिल्लाका अलग स्थानमा भएका दुई जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्रेको छ।
इलाम नगरपालिका-८, सिङफ्रिङमा हत्यापछि शव भेटिएकी ३१ वर्षीया विनीता काफ्ले र देउमाई नगरपालिका-७, बास्थलका ४५ वर्षे सन्तोषबाला राईको हत्याका आरोपी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार काफ्लेको हत्यामा संलग्न उनकै छिमेकी ४२ वर्षे देवेन्द्र रिमाल पक्राउ परेका छन्। उनलाई इलामकै महभिरको जंगलबाट पक्रेको प्रहरीले जनाएको छ। विनीतालाई देवेन्द्रले राति विनीताकै घरमा गएर घाँटी थिचेर हत्या गरी खाडलमा गाढेको प्रहरी दाबी छ।
‘विनीताको हत्या गरेर रिमाल फरार थिए,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘राति १२ बजेतिर विनीताको घरमा पुगेर त्यहीं हत्या गरी घरभन्दा अघि पर खाडलमा लगेर टाउको तथा हात काटेर अलग–अलग बनाइ पुरेको अवस्थामा शव भेटिएको छ।’
विनीताका पतिको एक वर्षअघि वैदेशिक रोजगारी सिलसिलामा कतारमा ‘शंकास्पद’ मृत्यु भएको थियो। विनीताका छिमेकी देवेन्द्रको विनीतासँग आउ–जाउ बाक्लो हुने गरेको र विनीताले आफूलाई बिहे नगरे देवेन्द्रकै घरमा आत्महत्या गर्ने धम्की दिएपछि हत्या गरेको आरोपीले स्वीकारेको पनि प्रहरीले जनाएको छ।
वैशाख १५ देखि हराएकी विनीताको शव घरभन्दा करिब ७ सय मिटर टाढा खाडलमा पुरिएको अवस्थामा १७ गते फेला परेको थियो। स्थानीयले उनी हराएकोबारे प्रहरीलाई खबर गरेका थिए। उनको शव शनिबार साँझ तरुल खनेको खाडल अलि बढाएर त्यहीं पुरिएको अवस्थामा फेला परेको थियो।
देउमाई नगरका सन्तोषबाला राईको वैशाख १६ मा स्थानीय दुई दाजु–भाइले हत्या गरेको र उनीहरूलाई पनि पक्रेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा स्थानीय २३ वर्षे भूपेन राई र श्रीचन्द्र राई छन्।
सन्तोषलाई सिद्धिथुम्का स्वास्थ्य चौकीबाट कोरोनाविरुद्धको खोप लगाइ घर फर्किनेक्रममा वैशाख १५ गते भूपेन र श्रीचन्द्रले बाटैका हत्या गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसारा मादक पदार्थ पिएका सन्तोष सडकमा हिँड्दैगर्दा भूपेन र श्रीचन्द्रले पछ्याएर भेटेको तथा उनीहरूबीच वादविवाद हुँदा सन्तोषलाई सडकको कान्लाबाट लडाएर कुट्दै ढुंगाले हानी हत्या गरेको पाइएको छ। भूपेन र श्रीचन्द्रलाई गाउँबाटै पक्राउ गरिएका प्रहरीले जनाएको छ।