इलाम । इलाम नगरपालिका वडा नं. ८ स्थित सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । ती महिलाको टाउको र शरीर छुट्टा छुट्टै पारेर पुरिएको अवस्थामा फेला परेको हो ।
केही चीज गाडिएको जस्तो देखिएको ठाउँमा शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग अलग भएको अवस्था शव भेटिएको स्थानीयले बताएका छन् । हातसमेत काटिएको अवस्थामा खाल्डोमा महिलाको शव भेटिएको हो ।
केही दिनअघिदेखि वेपत्ता रहेकी सोही ठाउँकी विनिता काफ्लेको शव पहिचान भएको स्थानीयले बताएका छन् । अन्दाजी २५ वर्षकी काफ्ले बैशाख १४ गतेदेखि वेपत्ता भएकी थिइन् । घरदेखि दुई सय मिटर टाढा गाडेको अवस्थामा उनको शव भेटिएको हो । उनको श्रीमान भने गत वर्ष वैदेशिक रोजगारीको क्रममा विदेशमै मृत्यू भएको थियो ।
प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि इलाम अस्पताल पुर्याएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।