पाँचथर। याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशनबाट पुनः राजेन्द्र जबेगु निर्वाचित भएका छन् । शनिबार फिदिममा सम्पन्न दोस्रो अधिवेशन राजेन्द्र कुमार जबेगु लाई पुनः कूलपतिमा निर्वाचित गरेको हो ।
प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो, सदस्यहरुमा तिलबिक्रम नेम्बाङ, भवानी तावा, डिक लाओती, ललीतचन्द्र फियाक, लाल अञ्जान सम्बाहाम्फे, खड्गनारायण आङदेम्बे, शेर बहादुर योङहाङ, सागर केरुङ, रबिन कुरुम्बाङ, सन्देश सुब्बा (इङ्वा), निशा लोवा निशुम, इन्दु फोम्बो र कमला आङ्देम्बे निर्वाचित भएका छन् ।
त्यस्तै, बिषयबिशेषज्ञ संयोजक आङ्बुहाङ अबोध अविरल, बिषयबिशेषज्ञ सदस्य साम्जिरी शेर्मा र श्याम तुफान निर्वाचित भएका छन् । शनिवार सम्पन्न उत्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति, याक्थुङ (लिम्बू) जातिको साहित्य, संस्कृति र मुन्धुमका खोजकर्ता बैरागी काइँला सहित चार साधकलाई सम्मान गरिएको छ । काइँलालाई १० तोला चाँदीबाट निर्मित मेडल सहित यम्बुगेन सम्मान द्वारा सम्मान गरिएको हो ।
त्यस्तै, प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगु र देबेन्द्र जबेगुले स्थापना गरेको ताम्रपत्र सहित नगद १५ हजार रुपैंयाँ राशीको बमजय स्मृति साहित्य पुरस्कारबाट बीर नेम्बाङ पुरस्कृत भएका छन् । सेसेमी से–नाल्बो र इक्सा सम्बाहाम्फेले स्थापना गरेको नाल्बो पत्रकारिता पुरस्कारबाट अमर तुम्याहाङ पुरस्कृत भएका छन् ।
उक्त पुरस्कारको राशी ताम्रपत्र सहित नगद २० हजार रुपैंयाँ रहेको छ । त्यस्तै मलिसा याक्थुङबा द्वारा स्थापित सुवाश फेजोङ÷सुवमाया मेयोङबा नवोदीत पुरस्कारबाट राज कुमार आङदेम्बे पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी सम्मान–पत्र सहित नगद ५ हजार रुपैंयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि, पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नेम्बाङले भाषा, साहित्यको बिकासका लागि नयाँ पुस्तालाई लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेम्वाङले साहित्यको क्षेत्रमा जे भैरहेको छ ति कार्य सराहनीय भएको बताएका छन् ।