इलाम। मोरङको पथरी ११ एफसी इलामको फाकफोकथुम ४ स्थित फुएतप्पामा जारी दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरीको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।
स्थानीय विष्णु माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा पाँचथरको रवि राइजिङ स्टार स्पोर्टिङ क्लबलाई पराजित गर्दै पथरी सेमिफाइनलमा प्रवेश गरेको हो । पथरीले रविविरुद्ध ४-० गोलको शानदार जित दर्ता गरेको हो ।
पथरीका सुवास तामाङले ह्याट्रिक पूरा गरे भने रुपेश धिमालको नाममा एक गोल रह्यो । पहिलो हाफ १ ० गोलअन्तरमा रहेको थियो । जसमा पथरीले पाएको पेनाल्टी सुटमार्फत रुपेश धिमालले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
म्यान अफ दी म्याच घोषित सुवास तामाङले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । उनले दोस्रो हाफको २ मिनेट, ६० मिनेट र ७३ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । पहिलो चरणको खेल सकिँदा उनी पहिलो ह्याट्रिककर्ता पनि हुन् । म्यान अफ दी म्याच बनेवापत उनले नगद २ हजार पाउन सफल भए ।
सोमबार पहिलो सेमिफाइनल खेल इलाम फिक्कलको मिलेनियम फ्रेण्डस एफसी र मोरङको लेटाङ एफसीबीच हुनेछ । त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेताले २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी पाउनेछ ।