तेह्रथुम । ऐतिहासिक आठराई मदन मेला २०७८ को अवसरमा आयोजित श्रीकृष्ण मेमोरियल फुटबल प्रतियोगिताको उपाधि नजिक पुगे पनि पाँचथरको महिला टिम ताप्लेजुङ संग पराजित भएको छ ।
मदन मेलाकाे उपाधि ताप्लेजुङको कर्मासिं सोनाम स्मृति क्लबले जितेको छ । आज भएको फाइनल खेलमा पाँचथर फाक्तेपको पिवाईसीलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । त्रि-मोहन माविको खेलमैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा ताप्लेजुङले सनम राईको निर्णायक गोलबाट उपाधि उचालेको हो ।
महिला फुटबलतर्फ उत्कृष्ट खेलाडी पाँचथरकी ममता राउत घोषितहुँदै नगद २ हजार ५ सय पाउन सफल भइन् । यस्तै, पिवाईसीकी एलेक्स चौधरी, बेस्ट गोलकिपर ताप्लेजुङकी एलिजा लिम्बू र ताप्लेजुङकै सनम राई सर्वाधिक गोलकर्ता भइन् । उनीहरुले जनही २ हजार ५ सय नगद र ट्रफी पाए ।
अनुशासित टिम घोषितहुँदै आठराई मदन मेला आयोजक समितिको क्लबले नगद ५ हजार पुरस्कार पाएको छ । ८ वटा टिम सहभागी प्रतियोगिताको विजेता ताप्लेजुङले नगद ६५ हजार र ट्रफी पाएको छ भने उपविजेता पाँचथरले नगद ४० हजार र ट्रफीमा चित्त बुझाएको छ ।