दिपक बोहोरा
सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी तालमेलका विषयमा निणर्य गर्न नसकिरहेका बेला केहि जिल्लाहरुमा भने सहमति जुट्न थालेको छ । एक नगरपालिका सहित सात गाँउपालिका रहेको पाँचथरमा सत्ता गठबन्धनको गठबन्धन भए एमालेको अवस्था कस्तो होला ? यस्को यकिन विशलेषण त गर्न सकिन्न किनकी चुनाव प्राबिधिक कुरा रहेको जानकारहरु बताउछन् । अनि फेरी गठबन्धन सफलनै होला भनेर भन्ने अवस्था पनि छैन् ।
तर, यदि गठबन्धननै भयो भने पाँचथरमा गठबन्धनबादी दल भर्सेज एमालेको २०७४ सालमा भएको निर्वाचनको मतअनुसारकाे अंकगणित अनुसार विशलेषण गर्न भने सकिन्छ ।२०७४ सालको निर्वाचनको नतिज हेर्ने हो भने पाँचथरमा कांग्रेस र एमालेनै बलियो छन् । पाँचथरमा आठ स्थानिय तह मध्ये ४ स्थानिय तह कांग्रेसले जितेको थियो । एमालेले त्यसबेला ३ स्थानिय तह जितेको थियो । १ वटा स्थानिय तह माओबादी केन्द्रले जितेको थियो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङको निधन भए पछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेद्धार बिरबहादुर कुरुम्बाङले जितेका थिए । नेकपा फुटे पछि एमालेमै बसेकाले एमालेले ४ पालिका बनाएको छ ।
एमालेले प्रमुख जितेकाबाहेक थप दुई स्थानीय तहमा उपप्रमुख पद जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँचथरको एक मात्र नगरपालिका र सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट नगर प्रमुखमा ओनाहाङ नेम्बाङ ६ हजार ९ सय ६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले ५ हजार ४ सय मत ल्याएका थिए । माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले ३ हजार ८ सय ८३ मत ल्याएका थिए । अन्य पार्टीहरुले १ हजार मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार उर्मिला श्रेष्ठ ६ हजार ५ सय १८ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार एमालेकी मुना नेम्बाङले ५ हजार ८ सय ५० मत पाएकी थिइन् । यस्तै माओवादी केन्द्रकी रमना लकान्द्रीले ३ हजार ५ सय ३६ मत ल्याएकी थिइन् । राप्रपाका टिकाहाङ जवेगुले १ हजार १३ मत ल्याएका थिए ।
फिदिम नगरपालीकामा रहेका १४ वडा मध्ये का्रग्रेसले सर्वाधिक ९ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा एमाले ३ वडा जित्दा माओवादीले पनि २ वडा जितेको थियो । कांग्रेसले जितेको फिदिम वडा नम्बर १ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएकाले उप निर्वाचन भएको थियो । उप निर्वाचनमा तत्कालीन नेकपाका (अहिले एमाले) उम्मेद्धार गजाधर भट्टराई निर्वाचि भएका थिए । कांग्रेसले ९ वाट एक गुमाएर ८ वटा वडा र एमालेले ३ वाट एक थपेर ४ वडा जितेको थियो । एमालले जितेका वडा नम्बर ५ का वडाध्यक्ष लिलाराज तुम्बापोको निधन भए पनि उपनिर्वाचन भएन् ।
फालेलुङ गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । फालेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा कांग्रेसले जितेको थियो । माओबादीले ३ वडा र एमालेले २ वडा जितेको थियो । फालेलुङ गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा सञ्चकुमार केरुङ २ हजार ९ सय ९६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका महेन्द्रहाङ जबेगुले २ हजार ८ सय ३४ मत ल्याएका थिए । नेकपा एमालेका कमलप्रसाद जवेगुले २ हजार ७ सय ६२ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ नेपाली कांग्रेसकी उम्मेदवार हिमा अधिकारीले २ हजार ९ सय ८१ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार नेकपा माओबादी केन्द्रकी कविता थाम्सुहाङले २ हजार ८ सय ४५ मत पाएकी थिइन् । यस्तै, नेकपा एमालेकी तारावती राईले २ हजार ७ सय २३ मत ल्याएकी थिइन् । फालेलुङ गाउँपालिकामा रहेका ८ वडा मध्ये कांग्रेस र नेकपा माओबादी केन्द्रले ३ वटा वडामा जीत हासिल गरेको थियो । एमालेले २ वडा जितेको थियो ।
हिलिहाङ गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालले जितेको थियो । हिलिहाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ७ वटै वडा एमाले जितेको थियो ।तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भएपछि २०७६ सालमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलबिक्रम इदिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
हिलिहाङ गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा भुवानीप्रसाद लिङदेनले ४ हजार १ सय ६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका समरबहादुर अधिकारीले ३ हजार ४ सय ४ मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका रविन तिम्सिनाले ३ सय ९३ मत ल्याएका थिए । अन्य उम्मेद्धारहरुले ४ सय मत ल्याउन सकेन्न ।
यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेकी उम्मेदवार सुमित्रा सेढाइले ४ हजार २ सय ५५ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी तारा योङहाङले ३ हजार २ सय १९ मत प्राप्त गरेकी थिइन् । यस्तै, नेकपा माओबादी केन्द्रकी एलिसा वाग्लेले ४ सय ७२ मत ल्याएकी थिइन् ।
हिलिहाङ गाउँपालिकामा रहेका ७ वडा मध्ये सबै वडामा नेकपा एमालले जीत हासिल गरेको थियो । २०७४ सालको निर्वाचनमा हिहिहाङ गाँउपालिकामा नेकपा एमालेले क्लिनस्विपनै गरेको थियो । तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भए छि २०७६ सालमा भएको उपनिर्वाचन कांग्रेसका तिलबिक्रम इदिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
याङवरक गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।याङवरकमा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा एमालेले जितेको थिायो । कांग्रेस २ वडा जितेको थियो । याङवरक गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा लेखनाथ घिमिरे ३ हजार ७ सय ४८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर निगोले ३ हजार ४ सय ४९ मत ल्याएका थिए । माओबादी केन्द्रका भीमकुमार मावोले ३ सय ३२ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ एमालेकी उम्मेदवार कमलकुमारी योङहाङले ३ हजार ५ सय ७६ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी कल्पना कोइरालाले २ हजार ८ सय ७२ मत पाएकी थिइन् । यस्तै माओबादी केन्द्रकी इन्दिरा पोखरेले ३ सय ९० मत ल्याएकी थिइन् । याङवर गाउँपालिकामा रहेका ६ वडा मध्ये एमाले सर्वाधिक ४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा कांग्रेसले २ वडा जितेको थियो ।
कुम्मायक गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली नेकपा एमालले जितेको थियो । कुम्मायक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा एमाले जितेको थियो । एउटा वडा स्वतन्त्र उम्मेद्धारले जितेका थिए । कुम्मायक गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा जयबहादुर चेम्जोङ ३ हजार २ सय २६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर लावती २ हजार ३ मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका तारावी कुँवरले ४ सय १० मत ल्याएका थिए ।
यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेकी उम्मेदवार सीता आर्चायले ३ हजार २ सय ८५ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार राप्रपाका जितबहादुर अगुवाले १ हजार १ सय ३८ मत प्राप्त गरेका थिए । यस्तै, सघिंय समाजबादी पार्टीका सुर्यकिरण राईले २ सय १२ मत ल्याएका थिए । कुम्मायक गाउँपालिकामा रहेका ५ वडा मध्ये सर्वाधिक नेकपा एमालले ४ वटा वडामा जीत हासिल गरेको थियो । एउटा वडामा स्वतन्त्र उम्मेद्धारले जितेका थिए ।
फालगुनन्द गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा अमरकुमार नेम्बाङ ४ हजार १ सय ६३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विरबहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७ मत ल्याएका थिए । माओबादी केन्द्रका ठाकुर सिं नेम्बाङले ७ सय ४४ मत ल्याएका थिए । अन्य पार्टीहरुले ५ सय मत समेत ल्याउन सकेका थिएन्न ।
तत्कालीन गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (हाल नेकपा एमाले) का विरबहादुर कुरुम्बाङ ५ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५ सय ६६ मत ल्याएका थिए । संघीय समाजबादीकी विमला आङदेम्बेले ३ सय २० मत ल्याएकी थिइन् ।
यस्तै, उपप्रमुख तर्फ कांग्रेसकी उम्मेदवार देवित्रा आङदेम्बे ३ हजार ९ सय ५३ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार एमालेकी करुण राईले ३ हजार ३ सय ९४ मत पाएकी थिइन् । यस्त,ै माओबादी केन्द्रकी तिर्थहाङमा नेम्बाङले ६ सय ९८ मत ल्याएकी थिइन् । फाल्गुनन्द गाउँपालिकामा रहेका ७ वडा मध्ये कांग्रेसले सर्वाधिक ५ वडामा जीत हासिल गरेको थियो । एमाले र नेकपा मालेले एक एक वटा वडा जितेको थियो ।
मिक्लाजुङ गाउँपालिकामा माओबादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा अमरराज माखिम ३ हजार ७ सय ६२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनकुमार फियाकले ३ हजार २ सय ९६ मत ल्याएका थिए । कांग्रेसका खड्क सुन्दर लावतीले २ हजार ५ सय ९ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ एमालेकी उम्मेदवार उर्मिला राईले ३ हजार ५ सय ६ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार माओबादी केन्द्रकी जुनुकुमारी लावतीले ३ हजार १ सय १४ मत पाएकी थिइन् । यस्तै कांग्रेसकी सुनमाया राईले २ हजार ६ सय ५० मत ल्याएकी थिइन् । मिक्लाजुङ गाउँपालिकामा रहेका ८ वडा मध्ये एमाले सर्वाधिक ४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा माओबादी केन्द्रले ३ वडा जित्दा कांग्रेसले पनि १ वडा जितेको थियो ।
तुम्वेवा गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । तुम्वेवा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा होमनाथ थापा २ हजार ३ सय ५० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका देबेन्द्र खत्रीले १ हजार ९ सय ९३ मत ल्याएका थिए । तुम्वेवा गाउँपालिकामा एमाले र माओबादी मिलेर चुनाव लडेका लड्दा कांग्रेस र राप्रपा पनि मिलेर चुनाब लडेका थिए ।
यस्तै , उपप्रमुख तर्फ नेकपा एमालेका उम्मेदवार धनप्रसाद साँवा १ हजार ९ सय ६४ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिस्पर्धी उम्मेदवार राप्रपाका घलेन्द्रबहादुर लिम्बूले १ हजार ५ सय ४१ मत प्राप्त गरेका थिए । यस्तै, नयाँ शक्ती पार्टीका सुर्यबहादुर सम्हाम्फेले १ सय १७ मत ल्याएका थिए । तुम्वेवा गाउँपालिकामा रहेका ५ वडा मध्ये सर्वाधिक नेकपा एमालले ३ वटा वडामा जीत हासिल गरेको थियो । २ वडामा कांग्रेसका उम्मेद्धारले जितेका थिए ।
गत निर्वाचनको अंकगणितलाई हेर्दा सत्तादलको गठबन्धन भयो भने एमाले एक्लैलाई पाँचथरमा चुनाव जित्न गाह्रो हुने अनुमान गर्न सकिन्छ । तर, हिलिहाङ गाँउपालिका र कुम्मायक गाउँपालिकामा गठबन्धन भन्दा एमाले बलियो देखिन्छ ।