पाँचथर । पाँचथरका ब्यपारीहरुको छाता संगठन पाँचथर उद्योग वाणिज्य संघको १२ औँ अधिबेशनबाट नयाँ नेतृत्व चयनको लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।
नेपाल उद्योग बाणिज्य संघ पाँचथरमा चुनावी माहोल छ । चार दलिय गठबन्धनका व्यवसायी र एमाले निकट व्यवसायिले मत खसाल्ने छन् । मतदान अधिकृत लक्ष्मी प्रसाद ढुंगानाका अनुसार अहिले सम्म ३ सय ५० मत खसेको छ । आज भैरहेको निर्वाचनमा एक हजार पाँच सय ३० जना व्यवसायीले मतदान गर्ने संघका अध्यक्ष दिपक नेपालले जानकारी दिए ।
चार दलीय गठबन्धनको तर्फबाट काँग्रेस निकट व्यवसायी नरेन्द्रप्रसाद अधिकारी अध्यक्षको उम्मेद्धार बनेका हुन् । गठबन्धनको उम्मेद्धार अधिकारी बिरुद्ध एमाले निकट नवराज घिमिरेले अध्यक्षमा उम्मेद्धारी दिएका छन् ।
नेपाल उद्योग बाणिज्य संघको निर्वाचन गठबन्धनको लागि सर्वेक्षण निर्वाचन भएको काङ्ग्रेस नेताहरु बताउछन् । व्यवसायीहरुको चुनावको रौनकले बजार तातेको छ ।