पाँचथर । किरात समुदायको महान पर्व चासोक तङ्नामको अवसरमा आयोजना हुने चासोक मेला फिदिम–४ सुम्हालुङ मन्दिर परिसरमा पुस १० गतेदेखि सुरु भएको छ। फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले ढोल, सांस्कृतिक झाँकी, परम्परागत पोशाक र स्थानीयको उत्साहपूर्ण उपस्थितिमा विशेष समारोहमार्फत मेलाको उद्घाटन गरे। धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनलाई लक्ष्य बनाइएको मेला १० दिनसम्म, अर्थात् पुस १९ गतेसम्म निरन्तर संचालन हुनेछ।
मेलामा झाँक्री नाच, मारुनी, चण्डीनाथ बालन, हाकपारे, ख्याली, पालम, धान नाच, डम्फु, केलाङ लगायतका स्थानीय सांस्कृतिक कार्यक्रम, हस्तनिर्मित सामग्री र परिकार स्टल, कृषि–कौशल प्रदर्शन, धार्मिक दर्शन, फोटो स्पट तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रमुख आकर्षण बनेका छन्। साँझपख झिलिमिली बत्ती, ढोल र सांस्कृतिक प्रस्तुतीसँगै मेलाको वातावरण अझ रंगीन बन्दै गएको छ।
मेलाको मुख्य आकर्षण मानिने आठौँ सुम्हालुङ मिनि म्याराथन पुस १२ गते आयोजना हुनेछ। पुरुषतर्फ ९.५ किलोमिटर र महिलातर्फ ५.३ किलोमिटर दूरीको दौड हुनेछ। पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, महिलातर्फ १५, १० र ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिनेछ। दुवै वर्गमा दौड सुम्हालुङ मन्दिरबाट सुरु भई सुम्हालुङ मन्दिरमा पुगेर समापन हुनेछ। मार्गमा सुरक्षा, स्वास्थ्य र पानी व्यवस्थासहित उपयुक्त प्रबन्ध गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्था सुम्जिरी सुम्हालुङ आम्बेपजका सचिव कमल तावतीका अनुसार चासोक मेला र मिनि म्याराथनको उद्देश्य सुम्हालुङ मन्दिरको प्रचार–प्रसार, खेलकुदमार्फत पर्यटन प्रवर्द्धन, स्थानीय लोक संस्कृतिको संरक्षण तथा पाँचथरको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने हो। मेयर काफ्लेसहित विभिन्न अतिथिहरूले मेलाले फिदिम र सुम्हालुङ क्षेत्रलाई धार्मिक–सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा अघि ल्याउने विश्वास व्यक्त गरे।
मेला सुरु भएसँगै सुम्हालुङ क्षेत्रमा भक्तजन, पर्यटक र स्थानीयको भीड बाक्लिन थालेको छ। परम्परागत संगीत, नृत्य, परिकार र उत्सवमय रंगीन वातावरणले सुम्हालुङ परिसर चासोक पर्वको उल्लासमा डुबेको देखिन्छ। “चासोक मेला बस्नुस्, रमाएर जानुस्,” भन्ने स्वागतभावनासहित मेला निरन्तर चलिरहेको छ।




