एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको छ ।
यसैबीच श्रेष्ठले पार्टीमा देखिएको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘हाम्रा पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।’ अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पास भएपछि माओवादी केन्द्रमा विवाद देखिएको थियो ।
माओवादी केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । सो बैठकमा एमसीसीको विषयमा चर्काचर्की पर्ने देखिएको छ ।