काठमाण्डाैं । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।
सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समानान्तर संवादमा छन् । प्रतिनिधिसभामा बिहीबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने भएपछि देउवाले छलफललाई तीव्रता दिएका छन् ।
देउवाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा संवाद गरेका थिए भने बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । त्यस लगत्तै गृहमन्त्री खाँण ओली निवास बालकोट पुगेका थिए । प्रचण्ड र ओलीसँगको छलफलमा खाँणले एमसीसीका विषयमा छलफल गरेका थिए ।
खाँणले र भने, ‘एमसीसीमा मुलुक ध्रुवीकृत भयो । सहमतिका साथ यसलाई पास गरौं भनेर मैले भनेँ । आजको छलफल यी विषयमा थियो ।’ तर छलफल परिणाममुखी नभएको बुझिएको छ ।
माधवमाथि देउवाको अझै आशा
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमै एमसीसीका पक्षमा बहुमत जुट्ने आश मारेका छैनन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको पक्षमा बहुमत जुटाउन सहयोग गर्ने देउवाको अपेक्षा छ ।
प्रधानमन्त्रीजी माधव नेपालको कुराबाट अझै अलमलेर बस्नुभएको छ । माधव नेपालले सकभर एमसीसीको पक्षमा मत दिनुहुन्छ,’ काँग्रेसका एक नेताले भने, ‘त्यो भएन भने पनि उहाँहरुले प्रचण्डको जस्तो एमसीसीको विपक्षमा मत हाल्न ह्वीप लगाउनु हुने छैन भन्ने प्रधानमन्त्रीलाई विश्वास छ ।’
एकीकृत समाजवादीका कम्तीमा पनि १०–११ जनाले एमसीसीको पक्ष मत दिने आँकलन देउवाको छ । प्रधानमन्त्री देउवा एकीकृत समाजवादीको भोट लिएर एमसीसी पारित गराउने पक्षमा छन् ।
माधव नेपाल आफैले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्ने वातावरण मिलाउने बचन दिएको काँग्रेस नेताको दाबी छ । काँग्रेसका एक पदाधिकारीले भने, ‘एमसीसी पास गर्ने ढंगले म वातावरण मिलाउँछु, तपाईं धेरै नआत्तिनुस् भनेर माधव नेपालले भन्नु भएको छ । प्रधानमन्त्रीजी पनि त्यसैको भरमा हुनुहुन्छ ।’
देउवालाई आलेको बचन
९–१० जना मन्त्रीले पनि एमसीसीको पक्षमा मत हाल्ने प्रधानमन्त्रीलाई बचन दिएको पाइएको छ । पर्यटनमन्त्री प्रेम आलेले त मन्त्रीसहित एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने प्रधानमन्त्रीलाई विश्वास दिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो ।
स्रोतले भन्यो, ‘नेकपा एकीकृत समाजवादीमा माधव नेपालभन्दा प्रेम आलेसँग सांसद बढी देखिन्छन् । प्रेम आलेसँग १० जना सांसद होल्ड छन् ।’
पर्यटनमन्त्री आलेले आफ्नो पार्टीबाट श्रममन्त्री किसान श्रेष्ठ, पार्वती विशुंखे, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन र बिना बुढाथोकीले एमसीसीको पक्षमा मत दिने विश्वास प्रधानमन्त्री देउवालाई दिलाएका छन् ।
गत असार ३ मा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा पनि एमालेमा ओली निकट उनीहरुले विश्वासको मत दिएका थिए ।
यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि एमसीसीको पक्षमा मत दिने संकेत दिएको पाइएको छ । काँग्रेसका ती पदाधिकारीले भने, ‘यिनीहरुले प्रधानमन्त्रीलाई बचन दिएका छन् । त्यो हुँदा एमसीसी पास गर्न बहुमत पुग्छ । अहिलेको हिसाब किताब यही हो ।’
काँग्रेस नेताहरु अनुसार गठबन्धन भत्केको अवस्थामा माधव नेपालले आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाए पनि आले फर्किने मुडमा छैनन् । आलेले प्रधानमन्त्री देउवाबाट पनि बर्खास्त नहुने गरी लबिङ गरिरहेको बालुवाटार स्रोतको भनाइ छ ।
बाबुराममाथि भरोसा