काठमाडौं । अमेरिकी परियोजना एमसीसी प्रतिनिधिसभामा टेबल भए पनि सत्ता गठबन्धनको संकट भने मोचन भइसकेको छैन ।
सत्ता साझेदार दल र विपक्षी दलको विरोधकाबीच नै आइतबार एमसीसी संसद्मा टेबल भयो । एमसीसीले सत्तामै रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई झनै नजिक ल्याइदिएको छ ।
दुवै दलको अवस्था भनेको अहिले सरकारमा रहने, केही सांसदलाई एमसीसीको विरोध गर्न लगाउने, कार्यकर्तालाई सडकमा उतार्ने, आफूहरु शीर्ष दलको बैठकमा बसेर सहमति कायम गर्ने देखिएको छ ।
संसद्मा टेबल गर्न दिए पनि यथास्थितिमा पारित गर्न नदिने पक्षमा दुवै पार्टी छन् ।
आइतबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक सञ्जालमार्फत् सोही सन्देश प्रवाह गरेका छन् ।
एमसीसीका सन्दर्भमा यी दुई दलले दोहोरो चरित्र प्रदर्शन पनि गरिरहेको भन्दै सामाजिक सञ्जालमामात्रै नभएर चौतर्फी आलोचना भइरहेको छ ।
आइतबार पनि बालुवाटारमा शीर्ष नेताहरु सहमति गरेर सदनमा टेबल हुँदा पनि माओवादी र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा विरोध गरिरहेका थिए ।
देउवा र ओली मिल्न नदिने रणनीति !
एमसीसीलाई यथास्थितिमा अघि बढाउनै नसकिने अडानमा रहेका प्रचण्ड र नेपाल अडानबाट ब्याक भएपछि एमसीसी टेबल भयो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकै ठाउँमा उभिने भय प्रचण्ड–नेपाललाई छ । अडानबाट लचिलो हुनु देउवा र ओलीलाई मिल्न नदिनु नै भएको एकीकृत समाजवादीका एक नेता टिप्पणी गर्छन् ।
“ओली र देउवा कुनै पनि बेला मिल्न सक्छन् । नमिलुन् भन्ने हाम्रो चाहना हो । ओलीको अभिष्ट इच्छा एमसीसी पास गराउने नै छ । उनले आफू सरकारमा रहँदा नै अघि बढाउन खोजेका थिए । कांग्रेस त खुलेआम पास गर्नुपर्छ भन्नेमा छ । एमसीसीकै कारण बाध्यताले जुटाएको गठबन्धन भत्किन नदिनका लागि नै एमसीसी टेबल गर्न दिइएको हो ।”
एमसीसी टेबल भए पनि यथास्थितिमा पारित गर्ने पक्षमा आफूहरुको नभएको उनको भनाइ छ ।
दुवै पार्टीमा दुई धार
एमसीसीका विषयमा नेकपा एकीकृत समाजवादीमा पनि दुई धार देखिएको छ । गएको फागुन ७ गते बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै नै विवाद देखिएको थियो ।
पार्टीमा विवाद देखिएपछि आजै सचिवालय बैठक पनि बस्दैछ ।
हाल सरकारमा रहेका मन्त्रीहरु भने एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेको एक स्थायी कमिटी सदस्यको दाबी छ । सो स्थायी कमिटीको बैठकको म्यान्डेट एमसीसी टेबल गर्ने भन्ने नरहेको भए पनि म्याण्डेट विपरीत भएको उनको जिकिर छ ।
“हाल पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु पास गर्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा मन्त्रीसमेत रहेका सांसदहरुले टेबुल नै गर्न नदिने भन्ने प्रजातान्त्रिक हुन्छ र ? भन्ने पश्न उठाएका थिए,” उनको दाबी छ,“३० जनामध्ये ५ जना साथीहरुको त्यो राय आएको हो । ती बाहेक सबैको भनाइ एमसीसी टेबल गर्नु हुँदैन भन्ने हो । स्थायी कमिटीको म्याडेट विपरीत नै टेबल गरियो ।”
बैठकमा दुई धार देखिएपछि अध्यक्ष नेपालले आफूहरुलाई सरकारबाट बाहिर पठाएर चुनावमा जाने षड्यन्त्र भइरहेको र त्यसलाई रोक्न अधिकतम् प्रयास गर्ने बताएका थिए ।
“हामीलाई सरकारबाट बाहिर पठाएर चुनावमा जाने षड्यन्त्र गरिँदैछ । गठबन्धनलाई जोगाउन अधिकतम् प्रयास गर्नुपर्छ,” उनले बैठकमा भनेका थिए ।
एमसीसी टेबल गर्न दिएर अध्यक्ष नेपाल भावनामा बहकिएको ती नेताको आरोप समेत छ ।
“बैठकको म्याण्डेट विपरीत गएर अध्यक्ष भावनामा बहकिनु भयो । टेबल गर्न दिने बैठकको म्याण्डेट नै थिएन,” ती नेताको भनाइ छ ।
एकीकृत समाजवादीका अर्का स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा भने एमसीसी पास गरेर गठबन्धनलाई जोगाउने पक्षमा नरहेको बताउँछन् ।
“गठबन्धन सबैको बाध्यता हो । गठबन्धन जोगाउन पर्छ । तर, गठबन्धनलाई जोगाउनकै लागि एमसीसी पारित गर्न सकिन्न । हामी मुद्दा छाड्दैनौं,” उनी भन्छन् ।
उता, माओवादीको फागुन ४ गते बसेको संसदीय दलको बैठकले सरकारले एमसीसीमा जबर्जस्ती गरे सरकार छाड्ने निर्णय गरेको थियो । माओवादीले एमसीसी टेबल भएकोमा नै असहमति जनाएको छ । तर, सरकार भने तत्कालै नछाड्ने भएको छ ।
“हामी अहिले सरकार छाड्दैनौं । ओली र देउवालाई मिल्न नदिने र गठबन्धनलाई एमसीसीकै कारण नटुटाउने विकल्पको खोजी हुन्छ,” उनी भन्छन् ।
विभिन्न विकल्पको खोजी भइरहेको ती नेताको भनाइ छ । माओवादीमा एमसीसीको विपक्षमा रहेका नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरु भने सरकार छाड्नुपर्ने बताइरहेका छन् । माओवादीले सकेसम्म सरकारमै रहने तर एमसीसीको विपक्षमा उभिने तयारी गरेको छ । पारित गर्ने बेला संसद बहिस्कार गर्ने तर सरकार नछाड्ने रणनीति माओवादीको रहेको छ ।