काठमाडौं । सत्ता संघर्षले फुटेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विस्तारै नजिकिन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद बढ्न थालेको छ ।
फुटपछि संवाद नै बन्द गरेका ओली र प्रचण्डको विभिन्न चरणमा भेटवार्ता भइसकेको छ । उनीहरुले सम्पर्क माध्यमबाट पनि निकटता बनाइराखेका छन् । दुई कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागेको छ ।
एमसीसीका कारण ओली र प्रचण्डको संवाद बढेको हो । अर्कोतर्फ, प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको कदमले पनि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आउन थालेका छन् ।
एमसीसीको विरोधमा एमालेबाहेक सबै कम्युनिस्ट शक्ति एक ठाउँमा उभिएका छन् । प्रचण्ड, माधव नेपाल, चित्रबहादुर केसी, नारायणमान विजुक्च्छे सबै एमसीसीको विपक्षमा छन् । विप्लव, मोहन वैद्य किरण, सीपी गजुरेल, आहुतीलगायतले नेतृत्व गरेका दल र मोर्चा सडकमा उत्रिइसकेका छन् । एमालेमा ओली समूह मात्र एमसीसीबारे स्पष्ट छैन । भीम रावल समूह एमसीसीविरुद्ध खुलेको छ ।
देउवाले अब चाल्ने कुनैपनि कदमले कम्युनिस्ट शक्ति मिलाउने या नमिलाउने अवस्था सृजना गर्न सक्छ । चुनाव नजिकिदै गर्दा कम्युनिस्टहरु एक भएमा देउवालाई ठूलो राजनीतिक धक्का लाग्न सक्छ । त्यसैले उनी राजनीतिक जीवनकै कठिन घडीमा छन् ।
एमससी सदनमा अनुमोदन नभए देउवामाथि नैतिक संकट आउनसक्छ । कम्युनिस्टहरु एक हुने माहोल सृजना हुनसक्छ । एमसीसी असफल बनाउन कम्युनिस्ट शक्ति एकजुट भएको सन्देश जानसक्छ । त्यसैले सफल बनाउन देउवा विकल्पसहित बढेका छन् । त्यो भनेको या त प्रचण्डलाई मनाउनु या ओलीसँग राजनीतिक लेनदेन गर्नु ।
चुनाव नजिकिदै गरेकाले कम्युनिस्टहरुमा एकता प्रयास चलिरहेको छ । २०७४ को आमनिर्वाचनमा एमाले, माओवादी र जनमोर्चा नेपाल गठबन्धन गरेर चुनाव लडे । उनीहरु भारी बहुमत ल्याउन सफल भए । त्यतिबेला काँग्रेस एक्लिएको थियो । त्यही परिस्थिति निर्माण गर्न ठूलै शक्ति लागेको छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन् ।