काठमाडौँ। अमेरिकी सहयोग परियोजना एमसीसी भोली आइतबार संसदमा टेबल गर्ने सहमति भएसँगै सत्ता गठबन्धनका नेताहरूले यसलाई टेबल मात्रै गर्ने वा तत्कालै अनुमोदन गर्ने भन्ने बारेमा फरक फरक धारणा राखेका छन्।
माओवादी र एकीकृत समाजवादीका नेताहरूले टेबल मात्रै गर्ने समझदारी भएको बताएका छन् भने कांग्रेसका नेताहरूले अनुमोदन गर्ने बारेमा पनि एक खालको सहमति भएको दाबी गरेका छन्।
अध्यक्ष प्रचण्ड निकट माओवादीका एक नेताका अनुसार शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी भोली आइतबार संसदमा टेबल गर्ने सहमति जुटाएको हो। उनले एमसीसी सम्झौता संसदमा टेबल गर्ने सहमति जनाउन पार्टीले अध्यक्ष प्रचण्डलाई म्यान्डेट दिएको बताए।
कांग्रेसका एक उच्च नेताले देउवा, प्रचण्ड र नेपालबीच संसदमा एमसीसी टेबल गर्दा कसरी प्रस्तुत भएर गठबन्धन जोगाउने भन्ने विषयमा एक खालको सहमति नै भइसकेको दाबी गरे। सहमतिको खाका उधृत गर्दै ती नेताले नाम नखुलाउने शर्तमा भने, ‘एमसीसी संसदमा टेबल गर्ने, मतदानमा जाँदा आफ्नो पार्टीका सांसदलाई ह्वीप नलगाउने, माओवादी र एकीकृत समाजवादीका लगायत सबै मन्त्रीले एमसीसीको पक्षमा मतदान गर्ने र ती मन्त्रीहरूलाई पार्टीले कारबाही नगर्ने, सांसदहरूले विपक्षमा मत दिन वा बहिस्कार गर्न पनि सक्ने र गठबन्धन जोगाउने सहमति भएको छ।’
कांग्रेसका ती नेताले भोली आइतबार नै संसदमा एमसीसी टेबल हुने दाबी गर्दै २–३ दिनदेखि गठबन्धन जोगाएर एमसीसी कसरी अगाडि बढाउने भन्ने बारेमा भइरहेको छलफलले यो निष्कर्ष निकालेको बताए।
‘नयाँ पार्टी भएकाले पनि होला एकीकृत समाजवादी त एमसीसी टेबल गर्नुपर्छ भन्नेमा लचिलो नै थियो’, कांग्रेसका ती नेता भन्छन्, ‘प्रचण्डलाई चाहिँ पार्टीभित्र प्रचण्ड दबाब छ एमसीसी अगाडि नबढाउन, त्यसैले कुरा मिलिरहेको थिएन।’
माओवादी अध्यक्ष प्रचण्ड निकट ती नेताले पनि करिब करिब त्यस्तो सहमति भएको स्वीकार गरे।
‘आज अध्यक्ष प्रचण्डसहितका नेताहरू गठबन्धन बैठकमा जानु भएको थियो, एमसीसी सम्झौता भोली संसदमा टेबल गर्ने र छलफल गर्दै जाने कुरामा सहमति जनाउने म्यान्डेट पार्टीको थियो। सम्भवतः त्यही निर्णय भयो होला।’
ती नेताका अनुसार गठबन्धन बैठकमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ सहभागी भएका थिए।
बैठकबाट निस्केका माओवादीका वरिष्ठ नेता श्रेष्ठले एमसीसी सम्झौता भोली संसदमा टेबल गर्ने विषयमा सहमति भएको संकेत गर्दै तर छलफलका लागि संसद खुल्नु पर्ने बताए।
‘संसदमा टेबल गर्ने विषयमा धेरै विवाद रहेन तर संसदमा अवरोध जारी रहेको अवस्थामा टेबल हुनुको अर्थ त्यही अवस्थामा छलफलमा लैजाने भन्ने होला, संसद बन्द रहेको अवस्थामा कसरी छलफल होला?’
श्रेष्ठले एकीकृत समाजवादीले पनि संसद खुलेको अवस्थामा टेबल गर्ने निष्कर्ष निकालेको बताए।
शनिबार एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्नु पर्ने निष्कर्ष निकालेसँगै सहमतिका लागि एक प्रकारले बाटो खुलेको मानिएको हो। तर माओवादी र एकीकृत समाजवादीका नेताहरूले एमसीसी संसदमा टेबल भएपनि तत्काल अनुमोदन नहुने संकेत गरेका छन्।
एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने तर टेबल गर्न दिने ठहर आफ्नो पार्टीले गरेको बताए।
‘यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन तर छलफलका लागि संसदमा टेबल गर्न दिने हाम्रो ठहर हो’, श्रेष्ठले भने, ‘एमसीसी संसदमा लगेर छलफल अगाडि बढाउनु पर्छ र संशोधन गर्न सकिने भए तयार हुनुपर्छ।’
सोही पार्टीका सांसद मेटमणि चौधरीले एमसीसी टेबल गर्न दिन्छौँ भन्नुको अर्थ पास गर्ने नभएको तर्क गरे।
‘सम्भवतः भोली एमसीसी संसदमा टेबल हुन सक्छ, संसदमा टेबल हुन दिन्छौं भन्नुको अर्थ पास गर्छौं भन्ने होइन’, चौधरीले भने, ‘हाम्रा सर्तहरू छन्। (अमेरिकाले) एमसीसी इन्डो–प्यासिफिक रणनीति होइन भन्यो भने ठीक छ भन्छौं। त्यो रणनीति अन्तर्गत हो भने सकारात्मक हुँदैनौँ। हामी मत हाल्दैनौँ।’