काठमाडौं। अब सत्ता गठबन्धन टुट्छ या एमसीसी रोकिन्छ । राजनीतिक घटनाक्रमले त्यही देखाइरहेको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेसबाहेकको तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपाल एमसीसीको विरोधमा छन् । उनीहरु कुनैपनि हालतमा एमसीसी पास नगर्ने पक्षमा उभिएका छन् । जसपा एमसीसीबारे विभाजित छ ।
अब एमसीसी पारित गराएरै छाड्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सामु पछि हट्ने या गठबन्धन तोड्नेबाहेकको विकल्प छैन । उनले एमसीसीमा प्रचण्ड र माधव नेपाललाई मनाउन प्रयास राखेपनि हरेस खाइसकेका छन् ।
देउवाको ध्यान एमाले अध्यक्ष केपी शर्मा ओलीतिर गएको छ । उनले आफ्ना विश्वासपात्रहरुलाई ओलीसँग संवादमा सक्रिय बनाएका छन् । तर, ओलीले राजनीतिक लेनदेनमा महत्वपूर्ण सतहरु राख्न थालेका छन् । यसले देउवा असजिलोमा परेका छन् ।
एमसीसी पनि टुंगो लगाउने र गठबन्धन पनि नटुटाउने भन्दै प्रचण्डले नयाँ भनाई सार्वजनिक गरेका छन् । एमसीसी टेबल गर्न नै नदिने रणनीतिका साथ प्रस्तुत भएका प्रचण्डले फेरि अलमलको नयाँ प्रयास थालेका छन् ।