बितेको झण्डै ३० घण्टा एमसीसीका कारण नेपालको राजनीति तरंगित बन्न पुग्यो । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बन्न पुग्यो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ ।
संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीसी टेबल भए सरकार र गठबन्धन छोड्ने माओवादी केन्द्रको अडानबीच तालमेल नमिल्दा गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिसकेको थियो । यसले एमसीसी टकराव उत्कर्षमा पुग्नुका साथै राजनीतिक तरलता झाँगिदै गएको थियो । यही तरलता र उतार–चढावका बीच बुधबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ छलफल भयो ।
दुई नेताको ‘वान टु वान’मा प्रधानमन्त्री देउवा एक कदम ‘ब्याक’ भएपछि बुधबारको संकट दुई दिनका लागि टर्न पुग्यो । तर, बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकको नतिजा नआउञ्जेलसम्म सत्ता गठबन्धनको भविष्य अझै पनि अन्योलमै छ ।
के–के भयो दुई दिनमा ?
अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी सम्झौता आगामी फागुन १६ गतेभित्र संसदबाट पास गराउन चर्को दबाव दिएपछि उनी जसरी पनि एमसीसी अघि बढाउन चाहान्थे । काँग्रेस सभापति समेत रहेका देउवा सोही अनुसार सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको असहमतिका बीच एमसीसी अघि बढाउन लागिपरेका थिए ।देउवा अघि बढ्ने सुइँको पाएका सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार बिहानै प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे । उनीहरुबीच करिव आधा घण्टा छलफल भयो । सो छलफलमा एमसीसी अघि बढाउने कि केही दिन थाती राख्ने भन्नेमा कुनै सहमति जुट्न सकेन ।
लगत्तै देउवाले मंगलबार नै संसदीय दलको बैठक बोलाएर एमसीसी अघि बढाउने निर्णय गराए । दलको बैठक बसिरहेको स्थानबाट प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न दबाव दिएका थिए ।
प्रधानमन्त्री देउवाको यो गतिविधिबाट माओवादी र नेकपा एकीकृत समाजवादी थप झस्किनु स्वभाविक नै थियो । संसदीय दलको बैठकपछि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि सभापति देउवाले एमसीसी बुधबारको बैठकमा टेबल भएरै छोड्ने ब्रिफिङ गरेका थिए । संसदीय दल र पार्टीका दुबै फोरममा देउवाले एमसीसीको पक्षमा नेता रामशरण महतलाई ब्रिफिङ गर्न लगाएका थिए ।
उता प्रधानमन्त्री देउवा एमसीसीबाट पछि नहट्ने देखेपछि माओवादी केन्द्रले बुधबार बिहानै संसदीय दलको बैटक बोलायो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ गरे । त्यसक्रममा उनले यथास्थितिमा कुनै हालतमा एमसीसी अघि बढाउन नसकिने बरु सरकार र गठबन्धनबाटै बाहिरिनुपर्ने अवस्था आए त्यसका लागि तयार रहन आफ्ना सांसदहरुलाई निर्देशन दिए । सोहीअनुसार माओवादी संसदीय दलको बैठकले गठबन्धन र सरकारभन्दा राष्ट्रिय हित ठूलो हो भन्दै सरकार छोड्नपरे तयार रहेको निष्कर्षसहित निर्णय नै गर्न पुग्यो ।
अनि देउवाले प्रचण्डलाई बालुवाटार बोलाए…
माओवादीले सरकार छोड्न सकिने निर्णय गर्दैगर्दा प्रचण्ड र देउवाबीच टेलिफोन वार्ता भयो । त्यसक्रममा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अघि बढाए आफ्नो पार्टी सरकार छोड्न तयार भएको र सोहीअनुसार निर्णय नै भएको सुनाए ।
देउवा र प्रचण्डबीचको फोन सम्वादपछि देउवाले एक कदमपछि हट्दै प्रचण्डलाई बालुवाटार बोलाए । सिंहदरबारमा दलको बैठक सकेर त्यहीँबाट प्रचण्ड सिधै बालुवाटार हानिए । बालुवाटारमा देउवा र प्रचण्डबीच एक घण्टा लामो छलफल भयो ।
दुई नेताबीच भएको छलफलमा देउवा र प्रचण्ड दुबै विहीबार गठबन्धनको बैठक बोलाएर सहमतिका लागि अन्तिम प्रयास गर्न सहमत भए । सोही अनुसार बिहीबार दिउँसो ३ बजे बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक राख्ने तय गरेर प्रचण्ड बालुवाटारबाट बाहिरिए ।
बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल चलिरहँदा संसद भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षकै नेताहरुबीच एमसीसी कार्यसुचीमा राख्ने कि नराख्ने भन्ने गरमा गरम बहस भइरहेको थियो भने एमसीसीको विरोधमा सडक तातिइसकेको थियो । जब देउवा–प्रचण्डबीचको संवादको सुचना परामर्श समितिमा पुग्यो, तब कार्यसुचीमा राख्न ठीक्क पारिएको एमसीसी हटाउने सहमति बन्यो ।
त्यसपछि १ बजे तोकिएको समयमा बसेको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै फागुन ६ गते सम्मलाई स्थगित भयो ।