काठमाडौं । नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।
बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलमा मछिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा गोल गरेका थिए ।
सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरे । उक्त गोल नोर्लान र मछिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरे । मनिषले च्यासलबिरुद्धको खेलमा चोट बोकेका थिए ।
मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल मछिन्द्रले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । मछिन्द्रसँगको हारसँगै सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ ।
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन ।
छैटौ चरणमा उपाधि दावेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।