काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रयोजन नखुलाएको खाली कागजमा हस्ताक्षर गराउन लगाउँदा एमालेका पाँच सांसदले अस्विकार गरिदिएका छन् ।
आफूहरुलाई के प्रयोजनका लागि खाली कागजमा हस्ताक्षर गर्न लगाइएको भन्ने प्रश्नमा जवाफ नआएपछि एमालेका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्विकार गरेका थिए ।
खाली कागजमा हस्ताक्षर गर्न लगाउँदा बैठकमा सहभागी भएका सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेनन् ।
बैठकमा सहभागी एक एमाले नेताका अनुसार ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गर्न लगाइएको थियो । यसरी छुट्टाछुट्टै कागजमा हस्ताक्षर गर्न लगाएपछि सुरुमै भीम रावल विरोधमा उत्रिएका थिए ।
पछि ४ सांसदले पनि त्यसको विरोध गरेका थिए । उनीहरुले यो सरासर कीर्ते काम हो भन्दै खाली कागजमा हस्ताक्षर गरेनन् । अन्य सांसदले भने हस्ताक्षर गरेको बताइएको छ ।