झापा। मेचीनगर नगरपालिका वडा नं. १४ मा रहेको मगमग चाउचाउ उद्योगमा आज बिहानदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।
आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको भएपनि अन्यत्र फैलनसक्ने सम्भावना कम भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासी आगो नियन्त्रणमा खटिएका छन् । आगो ठुलो नभए पनि कच्चा पदार्थबाट धुवा आइरहेको जनाइएको छ ।
शनिबार विहान ४ बजेदेखि लागेको आगो निभाउन १३ वटा दमकलसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको ढेडसय भन्दा धेरै जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताए ।
उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको उद्योगका सञ्चालक बुद्धि घिमिरेले जानकारी दिए । कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको घिमिरेले बताए ।
चार बर्षपहिले करिब १ अर्ब लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरे लगायत ब्राण्डका चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगमा २ सय ५० जनाले प्रत्यक्ष रोजगारी गर्दै आएको सदस्य घिमिरेले जानकारी दिए ।
आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।आगलागीको क्षतिको विवरण भने आइसकेको छैन ।