नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसबेला अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का कारण दोबाटोमा उभिन आइपुगेका छन् ।सार्वजनिक कार्यक्रम र समारोहमा एमसीसी सम्झौता संशोधनबिना अघि बढाउन नसक्ने बताउँदै आएका प्रचण्डले एमसीसी बोर्डलाई पठाएको लिखित पत्र सार्वजनिक भएपछि नैतिक बन्धनमा बाँधिँदै उनी दोबाटोमा उभिन पुगेका हुन् ।
देउवा र प्रचण्डले हस्ताक्षर गरेर पाँच महिनाअघि एमसीसीलाई पठाएको पत्रमा ‘एमसीसी पारित गर्ने तर त्यसका लागि समय चाहिने’ व्यहोरा उल्लेख छ । यस्तो पत्र सार्वजनिक भएपछि राजनीतिक वृत्तमा प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै आलोचना भइरहेको छ ।
गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै अध्यक्ष प्रचण्डले संयुक्त हस्ताक्षर गरेर एमसीसी बोर्डलाई एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, उक्त पत्र लामो समय गोप्य राखिएको थियो । जब अमेरिकाले समयसीमा तोकेर एमसीसी टुंगो लगाउन दबाब दिन थाल्यो, त्यसपछि प्रचण्ड थप अप्ठेरोमा पुगेका हुन् ।