काठमाडौ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु ।
पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ । थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।
निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका थापाले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गर्दै आएका छन् । निर्मल निवासले आफूलाई हराएर राजेन्द्र लिङ्देनलाई जिताउने काम मात्रै गरेको नभइ धेरै प्रश्नहरु पनि जन्मिएको उनले बताउँदै आएका छन् । ‘हामीले परिकल्पना गरेको राजसंस्थाले अरु पार्टीलाई हस्तक्षेप गर्दैन । तर निर्मल निवासको हस्तक्षेपको प्रयोजन के हो ? केन्द्रीय नेतृत्वले सही ढंगले विश्लेषण गर्न सकेन भने त्यो दुर्भात्यपूर्ण हुन्छ’,थापाले सोमबारको भेलामा भनेका थिए, ‘राजसंस्था मान्ने पार्टीलाई त यो हिसावले हस्तक्षेप हुन्छ भने राजसंस्था पुनःस्थापित भएको खण्डमा अन्य दललाई कस्तो हस्तक्षेप होला ?’