एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन्।
आज बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अघि बढाउन प्रमुख प्रतिपक्षको सहयोग मागेका थिए।
बैठकमा सहभागी रहेका एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवाले आज अध्यक्ष ओलीलाई छलफलमा बोलाएको र स्थानीय चुनाव तथा एमसिसीलगायतबारे छलफल भएको बताए।
‘एमसिसीलगायत विगय अघि बढाउन सहयोग गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा रह्यो,’ महासचिव पोखरेलले भने, ‘बैठकमा प्रचण्ड पनि हुनुहुन्थ्यो। उहाँले चुनावपछि मात्रै एमसिसी अगाडि बढाउन उचित हुन्छ भनेर भन्नुभयो। संसद खुलाउन प्रतिपक्षीले सहयोग गर्नुपर्दछ भन्नेखालका कुरा गर्नुभयो।’
एमालेले भने बैठकमा सत्तापक्ष नै एमसिसीबारे पहिले स्पष्ट हुनुपर्ने बताएको थियो। स्थानीय चुनाव समयमै हुनुपर्ने जोड एमालेको रहेको पोखरेलले बताए।
‘सत्तापक्षले एमसिसीबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छैन हामी हतारिँदैनौं,’ उनले भने।