यतिखेर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निकै विवादित छन् । गत कात्तिक २० गते लन्डनको वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा सहभागी भएर स्वदेश फर्कंदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच क्रममा लफडामा परेदेखि विवादित रेग्मीलाई छानबिन समितिले दोषी ठहर गरिसकेको छ ।
छानबिन उपसमितिका संयोजक चन्द्रप्रसाद रिजालले सीईओ रेग्मीले आफूलाई मार्ने र काट्ने धम्की दिएको बताएका छन् । आफ्नो नेतृत्वको उपसमितिले रेग्मीबारे जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक्रोशित रेग्मीले आफूलाई ‘मार्छु, काट्छु, तँलाई देखाइदिन्छु,’ समेत भनेको रिजाल बताउँछन् ।
पर्यटन बोर्डको सीईओ भएपछि डा.रेग्मीले आफ्नो पदीय मर्यादा भुलेको, अवाञ्छित गतिविधिमा लागेको, भ्रष्टाचारमा लिप्त भएको र सुन तस्करीमा समेत नाम जोडिएको आरोप खेपेका छन् । तर, यो आरोप डा.रेग्मी मान्न तयार छैनन् । अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा आफू सीईओ नियुक्त भएकै कारणले अहिले गठबन्धन सरकारले आफूलाई लखेट्ने काम गरेको उनको आरोप छ ।‘स्वच्छ तरिकाले पारदर्शी रहेर केही गरौं भन्दाभन्दै म माथि निरन्तर आक्रमणहरू भइरहेका छन् । किन यस्तो भइरहेको छ, मैले बुझ्न सकेको छैन । तर, राम्रो काम गर्दागर्दै पनि म माथि एकपछि अर्को यसरी नियोजित रूपमै संगठित आक्रमण भइरहनुलाई भने मैले राजनीति कारण बुझेको छु,’ डा.रेग्मीको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले र पूर्वमन्त्री योगेश भट्टराईबीच नै टकराव चलिरहेका बेला सीईओ रेग्मीप्रति समेत आले आक्रमक रहँदै आएका छन् ।
मन्त्री आलेले सार्वजनिक फोरमहरूमा नै रेग्मीप्रति कडा कटाक्ष गर्ने गरेका छन् । गत पुस १६ गते पर्यटन बोर्डको २३औं स्थापना दिवस कार्यक्रममा पुगेका मन्त्री आलेले सीईओ रेग्मीलाई ‘साँढे’सम्म भन्न भ्याए । रेग्मी स्वेच्छाचारी र घमण्डी भएको भन्दै मन्त्री आलेले उनीबाट पर्यटन बोर्ड चल्न नसक्ने बताए । तर, विमानस्थल विवादमा निलम्बनमा परेका सीईओ रेग्मी सोही दिन सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर बोर्डमा हाजिर हुन पुगेका थिए । यसले थप आक्रोशित बन्न पुगेका मन्त्री आले र सीईओ रेग्मी बीचको दूरि थप बढ्दै गयो । जुन विवाद एकपछि अर्को गर्दै झनै झाङ्गिएको छ ।
कसरी शुरू भयो आले र रेग्मीबीच टकराव ?
गत कात्तिक १७ गते मन्त्री आलेसँगै सीईओ रेग्मीलगायत केही निजी क्षेत्रका प्रतिनिधिहरू वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) कार्यक्रममा सहभागी हुन लन्डन गएका थिए । उक्त कार्यक्रममा आफू जान नचाहँदा नचाहँदै पनि बोर्ड सीईओ रेग्मीले जबरजस्ती लगेको मन्त्री आलेको आरोप छ । उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेर गएपनि त्यहाँ आफूले बोल्न नपाएकोप्रति उनले आक्रोश व्यक्त गरे । रेग्मीले नै आफूलाई बोल्नु नपर्ने भन्दै झुक्याएको आलेको आरोप छ ।
सोही कार्यक्रमबाट फर्किदै गर्दा सीईओ रेग्मी र त्रिभुवन विमानस्थलका कर्मचारीसँग लफडा भयो । रेग्मीले नियम विपरित बढी परिणाममा मदिरा (रक्सी) ल्याएको भन्दै अद्यागमनका कर्मचारीले रोकेपछि उनले थप्पड हाने । जुन, सीसीटीभी फूटेजमा पनि देख्न सकिन्छ ।
त्यसपछि विवादमा तानिएका डा.रेग्मी तर्फ मन्त्रालयको ध्यान तानियो । ड्यूटीमा रहेका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक छानबिन समिति बनायो । घटनाको छानबिन गर्न भन्दै सीईओ रेग्मीलाई निलम्बन गर्यो । उक्त घटनामा रेग्मी नै दोषी देखिएपछि उनलाई पाँच हजार रुपैयाँ जरिवाना गरियो ।
सोही घटनाका कारण निलम्बनमा परेका रेग्मीले आफूलाई ऐनविपरीत सरकारले निलम्बन गरेको भन्दै सर्वोच्चमा रिट दायर गरे । पुस १६ गते नै सर्वोच्चले पर्यटन मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै रेग्मीलाई तत्काल निलम्बन नगर्न आदेश जारी गर्यो र रेग्मी पुनः बोर्ड फर्किए । त्यसपछि मन्त्री आले र सीईओ रेग्मीबीच टकराव थप बढिरह्यो ।
आर्थिक अनियमिततादेखि सुन तस्करीसम्मका आरोप
विवादित सीईओ रेग्मी पुनः बोर्ड फर्किएसँगै मन्त्रालयले फेरि अर्को छानबिन समिति बनायो । मन्त्री आलेको निर्देशनमा पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकतत्वमा तीन सदस्यीय जाँचबुझ उपसमिति बन्यो । उक्त उपसमितिको सदस्यहरूमा बोर्डकै सदस्य ङावा ङिमा शेर्पा र मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेल थिए ।
सो उपसमितिले रेग्मीको गलत गतिविधिको छानबिन गरेर माघ १७ गते पर्यटनसचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ । उपसमितिले बुझाएको उक्त प्रतिवेदनमा सीईओ रेग्मीलाई दोषी ठह¥याउन एक दर्जनभन्दा बढी कारण उल्लेख गरेको छ ।
यस्ता छन् दोषी ठहर्याउनुको कारण
– त्रिभूवन विमानस्थल अध्यागमन विवादमा रेग्मी नै दोषी देखिएको,
– आफ्नो काम, कर्तव्य र अधिकार, पदीय मर्यादा भुलेको,
– बोर्डमा चरम आर्थिक अनियमितता गरेको देखिएको,
– कर्मचारी कटौती तथा भर्तीमा आफूखुशी चलखेल गरेको र बोर्डलाई नोक्सान पुर्याउने काम गरेको,
– विदेश भ्रमणमा सरकारीसँगै निजी क्षेत्रका प्रतिनिधिहरू लैजाने निश्चित मापदण्ड हुँदाहुँदै नियम मिचेर आफ्ना मानिसलाई मात्र लगेको,
– प्रदेश कार्यालय तथा बोर्डको गतिविधि विस्तारमा आफूखुशी निर्णय गरेको,
– पर्यटन बोर्डको नीतिनियम तथा निर्देशन नमानेको
– सुन चोरी पैठारी सम्बन्धी मुद्दामा समेत फसेको आदि ।
‘रेग्मीले मार्छु र काट्छु भन्दै धम्की दिए’ : संयोजक रिजाल
पर्यटन बोर्डका उपाध्यक्षसमेत रहेका जाँचबुझ उपसमितिका संयोजक चन्द्रप्रसाद रिजाल सीईओ रेग्मीबाट आफूलाई धम्की आएको बताउँछन् । आफ्नो नेतृत्वको उपसमितिले जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक्रोशित रेग्मीले आफूलाई मार्छु, काट्छु, तँलाई देखाइदिन्छु भन्दै धम्की दिएको उनले बताए ।