ताप्लेजुङ। मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन् । आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन् । जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन् । अहिले घरको आँगनबाटै दैनिक १०-१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उनी विगतका दिन सम्झिरहन्छिन् ।
खानेकुरा लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौं तर अहिले घरघरमै आइपुग्दा अचम्म लागेको छ’, उनी भन्छिन् । विगतमा दुई दिन पैदल हिँडेर माइती गएकी फक्ताङलुङ गाउँपालिका-६ फेम्बूकी बेलिता लिम्बूलाई सोमबार बिहान आफ्नो माइतीमा आमा सिकिस्त बिरामी भएको खबर भयो ।
उनी आफ्नो जन्म दिने आमालाई भेट्न सोमबार बिहानै घर नजिकैबाट गाडी चढिन्। १० घण्टा गाडीमा यात्रा गरेपछि उनी आफ्ना माइतीघरमा आमालाई भेट्न सिरिजङ्गा गाउँपालिका-६ मामांखे पुगिन्। पहिले त ठूलो जङ्गल र पहाड पार गर्दै जानुपर्ने भएकाले बाटामा खाजा, खाना पहिले नै तयार गरेर आफैँले बोकेर ४७ घण्टा पैदल हिँडेपछि माइती पुगिन्थ्यो ।
दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुई पटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङ्लुङ गाउँपालिका-६ का दावा शेर्पा आजभोलि किनमेलका लागि सदरमुकाम पुग्न छाडिसके। अहिले उनेकै घरआँगनमा सडक पुगेको छ । दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पुर्याइदिन्छ ।
गत वर्षसम्म गाडी चढ्न र दैनिक आवश्यकताका सामग्री लिन सिरिजङ्गा गाउँपालिका-६ मामाखे गाउँका मानिस खाम्देम्बेसम्म एकदिनसम्म पैदल हिँडेर पुग्नुपर्थ्यो। गत हप्तादेखि मामाङ्खे गाउँमा सडक पुगेको छ । लामो समयपछि मामाङ्खे गाउँमा सडक पुग्दा गाउँबासी खुशी भएको सिरिजङ्गा-६ का वडाध्यक्ष सुखराज लिम्बूले बताए।
सिनाम-सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासम्म सडक पुर्याउने प्रदेश नं १ सरकारले परिकल्पना गरेको छ । त्यसैले सिनाम-सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा सडकखण्डका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड दश लाख बजेट विनियोजन गरेको र काम भइरहेको वडाध्यक्ष सुखराजले बताए ।
गत हप्ता सिरिजङ्गा-६ मामाङ्खे गाउँ सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङका सबै वडामा सडक पुगेको छ । ६० वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो । गत हप्ता मात्र सिरिजङ्गा-६ वडाको सिमानामा सडक प्रवेश गरेपछि जिल्लाका सबै वडामा सडक पुगेको हो ।
यसरी तीन तहका सरकारका सक्रियतामा दुर्गम र सहरी क्षेत्र सडक सञ्जालले जोडिँदै गएका छन् । ताप्लेजुङका गाउँगाउँ सडक सञ्जालमा जोडिएसँगै विस्तारै सुगममा रुपान्तरण हुँदै गएका छन् । मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको आगामी असारमा पाँचवर्षे कार्यकाल सकिँदै छ ।
ताप्लेजुङका नौ स्थानीय तहमा कुल ६१ वडा छन्। अहिले सबै वडा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ । मिक्वाखोला- ५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको छ । मिक्वाखोला-५ का वडाध्यक्ष डण्डु लामाले वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको बताए । स्थानीय तहले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिकता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो । जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दिनचर्यामा सहजता आएको छ ।
जिल्लाका सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा गाडीका लागि टिकट काउन्टर खुलेको छ । सदरमुकामदेखि विभिन्न गाउँगाउँमा दैनिक सार्वजनिक ट्याक्सी लाग्ने गरेको छ । कच्ची र साँगुरो बाटो भएकाले ठूलो सीटका बस भने जान सकिरहेका छैनन् । आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङ्देन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड-दमक- विराटनगर बस सेवा सञ्चालन भइरहेको छ ।
सिरिजङ्घा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड-दमक-विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिदिङ्वा गाउँपालिका केन्द्रदेखि पनि अन्य जिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ । सिरिजङ्गा-६ मामाङ्खे गाउँ सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङका सबै वडामा सडक पुगेको छ । ६० वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो । गत हप्ता मात्र सिरिजङ्गा-६ वडाको सिमानामा सडक प्रवेश गरेपछि जिल्लाका सबै वडामा सडक पुगेको हो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले जिल्लामा १७६ योजना छनोटमा पारेकामा २० सडक आयोजना थिए । प्रदेशकै गौरवको आयोजनाअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने पर्यटकीय सडक आयोजना निर्माण भइरहेको छ । सो सडक आहिले सिरिजङ्गा-६ मामाखे गाउँमा निर्माणाधीन छ ।
क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङ्लुङ-७ ओलाङ्चुङ्गोला मित्र राष्ट्र चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । ओलाङ्चुङ्गोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । उता, सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर सडक चीनसँग जोडिन २ किमी मात्र बाँकी रहेको उत्तर-दक्षिण राजमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी माधव पौडेलले बताए ।
राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर अहिले चीनको सीमावर्ती क्षेत्रमा प्रवेश गरेको छ । चीन र भारतलाई जोड्ने करिडोरअन्तर्गत नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङ्गोला क्षेत्रमा काम भइरहेको छ । करिडोरको अन्तिम साधारण मार्ग खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए। तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग करिडोरले जोडिने छ ।
चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङ्चुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किमी लम्बाइ ट्रयाक चीनको निर्माण कम्पनीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर हुँदै ताप्लेजुङ जिल्लाको फक्ताङलुङ-७ ओलाङ्चुङ्गोलाका सुकेपानी र मगावाबीचमा अहिले काम भइरहेको छ । अहिले काम भइरहेको ठाउँदेखि गैरीपाटी पुग्न दुई किमी रहेको आयोजनाका सूचना अधिकारी पौडेलले बताए ।
करिडोरले भारतको जोगबनीदेखि प्रदेशको राजधानी विराटनगर हुँदै भारत र चीनसँग प्रत्यक्ष सडक सञ्चालनले जोड्ने सूचना अधिकारी पौडेलले बताए । चतारादेखि ओलाङ्चुङ्गोलासम्ममा २३० किमी पर्छ । ओलाङ्चुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किमी पर्छ । तमोर करिडोरको जम्मा २५४ किमी पर्छ । यसमा २५४ किमीमा चोतारादेखि टिप्पताला नाकासम्म पर्छ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किमीमा चतरा पर्छ । तीन सय १४ किमीले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।
ओलाङ्चुङगोला हुँदै चीन जोड्ने तमोर करिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न शुरु गरिएको सो सडकको अहिले ताप्लेजुङ हुँदै नेपाल-चीन सिमाना ओलाङ्चुङ्गोलासम्ममा काम भइरहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । तीन ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट तमोर करिडोर निर्माण अघि बढाइएको थियो । सबै ब्लकमा पहिलो काम ट्रयाक खुलाइएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङ्गोलाको सुकेपानीदेखि गैरीपाटीसम्मको दुई किमी काम मात्र बाँकी रहेको पौडेलले बताए ।
करीब १८० किमी लम्बाइको सो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका-२ देखि पाँचथरको लुबुघाट-माझीटार-ताप्लेजुङ छिचोलेर ओलाङ्चुङ्गोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ । सो सडकखण्डमा विभिन्न आकारका १० पुल निर्माण हुने क्रममा रहेको आयोजनाले जनाएको छ । विसं २०६५ मा तमोर करिडोर निर्माण शुरू भएको थियो । त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा सो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषणा गरी निर्माण अघि बढाइएको छ ।
भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर करिडोरलाई विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । सो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।
तमोर करिडोरले प्रदेश-१ को समृद्धिको ढोका खोल्ने सञ्चारकर्मी वसन्त लिम्बूले बताए । अहिले पाँचथरको जोरसालदेखि धनकुटाको मूलघाट हुँदै प्रदेशको पर्यटकीय क्षेत्र भेडेटार, धरान, प्रदेश राजधानी विराटनगर हुँदै नेपाल र भारतको नाका जोगबनीसम्म दैनिक यातायात सञ्चालन हुँदै आएको छ । रमणीय दृश्यावलोकन गर्नका साथै छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा तमोर करिडोर पर्दै गएको लिम्बूले बताए ।
पाँचथरको माझीटारदेखि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ थिबा खोलासम्म ६० किमी ग्राभेलका लागि ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ । ग्राभेल हुनेबित्तिकै ताप्लेजुङका समुदायलाई राहत मिल्ने छ। साथै ताप्लेजुङ जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा फड्को मार्ने ताप्लेजुङ जिल्लाबासीले विश्वास लिएका छन् ।
विगतका दिनमा यातायात नहुँदा जनतालाई विशेषतः बिरामी हुँदा समयमै अस्पतालसम्म पुर्याउन समस्या झेल्नु थियो । गाउँमा सडक नपुग्दा डोकामा बोकी दुई्चार दिन पैदल हिँडेर अस्पतालसम्म पुग्नुपर्ने समस्या थियो । समयमै अस्पताल पुर्याउन नस्कदा गाउँबासी धेरैले ज्यानसमेत गुमाउने परेको फुङ्लिङ नगरपालिका- ११ का टेकबहादुर विष्टले बताए ।
विगतमा आवश्यक खाद्य सामग्री ढुवानी गर्न धेरै समस्या थियो । अहिले भन विस्तारै गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै सहजता भएको विष्टले बताए । गाउँगाउँमा सडक पुगेसँगै आठ स्थानीय तहले आफ्नो गाउँपालिकाभित्रका समुदायलाई एम्बुलेन्स सेवासमेत दिँदै आएका छन्।