काठमाडौं । मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले मौरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा अग्रता लिएको छ । सुजलले १०औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको छैटौ मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्टमाथिबाट धेरै आकासियो । सातौ मिनेटमा मौरिससका लिन्स्ले ब्रासीको प्रहारले पोस्टको दिशा लिन सकेन ।
१०औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए । नविन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल पासलाई सुजल श्रेष्ठले क्लोज रेन्जबाट फाइनल टच दिएका थिए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।
१२औं मिनेटमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।
३६औं मिनेटमा तेज तामाङको झन्डै ३० यार्ड टाढाको सशक्त प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा गोलरक्षक किरण पोजिसनमा नरहेको अवस्थामा एड्रियन बोट्लरको प्रहार पोस्टमाथिबाट थोरै बाहिरिदा मौरिसस बराबरीबाट चुक्यो ।
एक गोल बेहारेपछि र पेनाल्टी चुकाएपनि मौरिससले घरेलु टोली नेपालमाथि दवाव बढाएपनि गोलरक्षक किरणले एक पछि अर्काे उत्कृष्ट बचाउ गर्दै बराबरी टारेका छन् । नेपालले पहिलो खेलमा १–० को जित निकालेको थियो । उक्त खेलमा विम घर्तीमगरले गोल गरेका थिए । विमल यस खेलमा बेञ्चमा रहेका छन् ।