काठमाडौं । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार माघ १२ मा हुने निर्वाचनमा नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते (भोलि) उमेदवारको विरोधमा उजुरी दिने सकिने छ ।
यसैगरी पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।