काठमाण्डाैं । दाङमा जन्मकैद सजाय भुक्तानी गरिरहेका एक कैदी प्रहरीकै मोटरसाईकल लिएर भागेका छन् । घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका राजपुर गाउँपालिकाका जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईकल लिएर भाग्न सफल भएका हुन् । परियारले आफु बिरामी रहेको बताएपछि प्रहरी जवान धनबहादुर चौधरीले मोटरसाइकलमा राखेर घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याएका थिए । प्रहरीको मोटरसाईकलसहित कैदी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
कारागारमा प्रहरी र सेना दुबै हुने भएपनि कैदीलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको छ । जेलका नाइके समेत रहेका परियारलाई हत्कडी नलगाई अस्पताल लगिएको थियो । बिहान साढे १० बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पुर्याएका थिए । मोटरसाईकलसहित कैदी भागेको खबर भने बेलुकी ४ बजे मात्रै जिल्ला प्रहरी कार्यालय दाङले पाएको थियो ।जिल्लाका सबै नाका बन्द गरेर भागेका परियारको खोजीकार्य जारी भैरहेको एसपी काफ्लेले बताए । दाङ जिल्ला अदालतले ज्यान मार्ने कसुरमा परियारलाई २० वर्ष कैद सजायको फैसला गरेको थियो । उनले ७ वर्ष कैद भुक्तानी गरेको र १३ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।