काठमाण्डाै । काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएसँगै अमेरिकी सहयोग परियोजना (एमसीसी) कसरी अगाडि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । अघिल्लो वर्षको तुलनामा केही छिटो गरी संसदको हिउँदे अधिवेशन बोलाउनुलाई पनि एमसीसी परियोजना अगाडि बढाउन खोजेको आशंका गरिएको छ । यही बेला काँग्रेसको नेतृत्वमा पुनः देउवा विजयी भएपछि यो परियोजनाबारे चासो बढेको हो ।
।देउवा प्रधानमन्त्री भएकै बेला २०७४ साल भदौ २९ गते ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे एमसीसी अनुदान सम्झौता भएको थियो । आफूले सम्झौता गरेको ठूलो धनराशिको परियोजना अगाडि बढाउनु देउवाका लागि एकातिर प्रतिष्ठाको विषय बनेको छ भने विदेशीहरुको विश्वास लिनका लागि पनि उनले यो परियोजनालाई अगाडि बढाउँछन् भन्ने विश्लेषण हुन थालेको छ ।
गत मंसिर १ गते नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवासँग एमसीसी परियोजना अगाडि बढाउनेबारे छलफल गरेका थिए । सो भेटपछि देउवालाई एमसीसी अगाडि बढाउनुपर्ने दबाब थप बढेको अनुमान गरिएको छ । यद्यपि, सत्ता गठबन्धन दलभित्रै यसबारे फरक फरक मत रहेका कारण देउवालाई यो परियोजना अघि बढाउन त्यति सहज भने छैन ।१४ डिसेम्बरमा अमेरिकाको एमसीसी हेडक्वार्टरमा एमसीसीबारे नियमित छलफल भएको र त्यो छलफलबाट हुने निर्णयले नेपालका आएको परियोजनालाई खासै असर नपार्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
एमसीसीकै कारण गठबन्धन परिवर्तन हुन सक्छ : पुरञ्जन आचार्य
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य एमसीसी पास गर्न अब देउवाको जोड रहने बताउँछन् । देउवा उदार लोकतन्त्रलाई परिपोषण गर्ने र पश्चिमा देशहरुसँग अझ नजिक रहेका कारण पनि यस्ता परियोजनालाई अगाडि बढाउन चाहने गरेको उनले बताए ।
आचार्यले भने, ‘स्वाभाविक रुपमा देउवालाई अब एमसीसी अगाडि बढाउन सहज छ । तर उहाँका लागि एमसीसी अगाडि बढाउन सत्ता गठबन्धन बाधक छ । यसका लागि पुष्पकमल दाहाल बाधक छन् ।’
उनले एमसीसीकै कारण अहिलेको गठबन्धन दल भत्किने र नयाँ गठबन्धन बन्ने सम्भावना पनि रहेको तर्क गरे । उनले भने, ‘अब गठबन्धनमा केपी ओलीको प्रवेश पनि हुन सक्छ । दुवैले पार्टीबाट फ्रेस म्यान्डेट लिएका छन् । यी दुवैको सत्ता समीकरणको सम्भावना पनि उत्तिकै छ ।’
एमसीसी पास गर्ने दुवैको चाहना रहेको टिप्पणी गर्दै आचार्यले अगाडि भने, ‘त्यसकारण अहिलेको गठबन्धनबाट एमसीसी पास हुन्छ भन्ने मलाई लाग्दैन । चुनाव अगाडि नयाँ गठबन्धन बन्ने सम्भावना छैन भन्ने कुरा पनि मलाई लाग्दैन । चुनाव अगाडि नयाँ गठबन्धन बन्ने सम्भावना पर्याप्त छ । यदि त्यस्तो गठबन्धन बन्यो भने त्यसको उद्देश्य नै एमसीसी हो ।’
राताेपाटीबाट