काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही कात्तिक पहिलो हप्ता धुलिखेलमा रहेकाे साहसिक खेल ‘जीपलाइन’ मा रमाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाउनुभयो, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।
आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बस्नुभएका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलमा रहेकाे जीपलाइन खेलमा रमाएका थिए । उहाँको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ । त्यति बेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिनुभएको थियो । अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ ।
‘पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ’ , वर्ल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने । उनका अनुसार त्यस दिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका हुन । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नगरपालिका ५ मा रहेकाे खावासम्म एक हजार एक सय मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल्न पाइन्छ ।
जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाइ नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ । ‘अहिलेका बिदामा साथीहरू मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छाैँ’, भक्तपुरका अनिष थापाले भने । धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाण्डाै, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेको जनाइएको छ ।
त्यसो त गएकाे भदौ दोस्रो हप्तादेखि कोरोना सङ्क्रमण दर ओरालो लाग्दै गर्दा धुलिखेलमा रहेकाे होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रवार र शनिवार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनलेबताउनुभयो । उहाँले भन्नुभयो, ‘भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन् ।’ चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुन सक्ने उनको तर्क छ ।
प्रक्षेपण गरिएअनुसार कोरोनाकाे तेस्रो लहर आउला–नआउला तर, कोरोना सङ्क्रमण दर सङ्ख्या निकै ओरालो लागेपछि अहिले धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । ‘अब व्यवसायले रूप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, अहिले होटल–पर्यटन सहज बन्दै गएको छ’, उनले भन्नुभयो । पचास शय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा बेहाेर्न बाध्य बनाइरहेका बेला फेरि तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।
कोरोनाको जोखिमपछि अहिले फेरि बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान) का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । ‘अब सङ्क्रमण दर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । दैनिक दुई सयका हाराहारीमा उहाँको रिसोर्टमा आन्तरिक/बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उहाँले भन्नुभयो, अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ । उहाँका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको सान बढ्दै गएको छ ।
गएकाे वर्षको कोरोना त्रासपछि आन्तरिक एवम् बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बन्याे धुलिखेलमा ठूला–साना गरी झन्डै ६० होटलमा एक हजार शय्या क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै झन्डै ५० अर्ब रुपैयाँको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ झन्डै तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहाेरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गएकाे भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गर्नुपरेको थियो । गएकाे वर्ष कोरोना भाइरस सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभाष यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताउनुभयो । ‘दोस्रो लहरपछि फेरि अहिले आन्तरिक पर्यटक बढ्दै गएका छन्, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ’, होटल माउन्ट प्रिन्सेस्का सञ्चालकसमेत रहनुभएका सैँजूले भने।
पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाण्डाैबाट ३० किलोमिटरको दुरीमा रहेकाे छ । धुलिखेल काठमाण्डाैबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका साथै काठमाण्डाै, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन्